९ श्रावण २०८३, शनिबार

जीवन बीमा व्यवासय: तीन महिनामा झन्डै ४१ अर्बको व्यापार, नेपाल लाइफको सर्वाधिक, एलआइसी र हिमालयन अगाडि



काठमाडौं । जीवन बीमा कम्पनीहरूले तीन महिनामा झन्डै ४१ अर्बको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

चालु आवको तीन महिनामा जीवन बीमा कम्पनीहरूले कुल ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समीक्षा अवधिमा कम्पनीहरूले नवीकरण मार्फत ३४ अर्ब ८ करोड २० लाख रुपैयाँ र प्रथम बीमा शुल्क बापत ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क उठाएका हुन् ।

समीक्षा अवधिमा सबैभन्दा धेरै व्यापार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । नेपाल लाइफले असोज मसान्तसम्ममा १० अर्ब ९५ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । समीक्षा अवधिमा कम्पनीले नवीकरण मार्फत ९ अर्ब ३५ करोड ७२ लाख र नयाँ व्यवसाय मार्फत १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको सङ्ख्या भने ११ लाख ७० हजार ३९६ वटा रहेको छ । नेपाल लाइफले असोजमा मात्रै २ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । 

तीन महिनाको कुल व्यापारको आधारमा दोस्रो स्थानमा भने लाइफ इन्स्योरेनस कर्पोरेसन नेपाल (एलआईसी) रहेको छ । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ५० करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।  तीन महिनामा कम्पनीले नवीकरण मार्फत ४ अर्ब २८ लाख र नयाँ बिजनेस मार्फत ५० करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोजमा मात्रै कम्पनीले कुल ६ हजार ४४६ वटा बीमालेख बिक्री गरी कुल १ अब ४४ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिएको छ।  

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी पनि धेरै व्यापार गर्नेको तेस्रो सूचीमा रहेको छ । चालु आवको तीन महिनामा कम्पनीले ४ अर्ब ३८ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले नवकिरण मार्फत ३ अर्ब ८५ करोड १६ लाख रुपैयाँ बीमा शुल्क उठाउन सफल भएको छ । नयाँ बिजनेस भने तीन महिनामा ५२ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । 

चौथो सूचीमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पनि तीन महिनामा ४ अर्ब १९ करोड २६ लाख रुपैयाँ, पाँचौँ स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चालु आवको तीन महिनामा सूर्य ज्योति लाइफ भने छैटौँ स्थानमा पुगेको छ । सो अवधिमा कम्पनीले २ अर्ब ३० करोड ४६  लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। 

यस्तै, असोज मसान्तसम्ममा एशियन लाइफले १ अर्ब ८६ करोड ९० लाख, सानिमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड ८६ लाख, सिटिजन लाइफले १ अर्ब ५० करोड ४५ लाख, मेट लाइफले १ अर्ब ३६ करोड ६७ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड  १५ लाख, आइएमई लाइफले १ अर्ब १० करोड २ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । 

यता, रिलायबल नेपाल लाइफले पनि असोज मसान्तसम्म आइपुग्दा १ अर्ब १ करोड २८ लाख रुपैयाँ र सन नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । 


प्रतिक्रिया दिनुहोस्