वैदेशिक रोजगार बीमाबाटै साढे ६८ करोड प्रिमियम कलेक्सन, १५ लाख बढी पोलिसी सक्रिय
काठमाडौं । वैदेशिक रोजगार बीमा मार्फत साढे ६८ करोड बढी बीमा शुल्क उठेको छ । जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमा मार्फत तीन महिनामा ६८ करोड ५७ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका हुन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको कुल १५ लाख ९८३ वटा बीमालेख सक्रिय देखिएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरू अनिवार्य रूपमा म्यादी बीमा गर्नुपर्दछ । सोही अनुसार नै गरिएको बीमामा सो सङ्ख्यामा पोलेसी सक्रिय देखिएको हो । पछिल्लो समय वैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ ।
असोजमा मात्रै कम्पनीहरूले २३ करोड ७५ लाख ७१ हजार रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत नै उठाएका छन् । असोजमा कम्पनीहरूले कुल ५७ हजार ३७८ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क उठाएका हुन् ।
हाल नेशनल लाइफ, नेपाल लाइफ, एशियन, आइएमई, सन नेपाल, रिलायवल, सिटिजन, सूर्यज्योति, सानिमा र प्रभुमहालक्ष्मी लाइफले वैदेशिक रोजगारी बीमा गर्दै आएका छन् । समीक्षा अवधिमा वैदेशिक रोजगार बीमाको दायित्व (बीमाङ्क रकम) ५७ अर्ब ३७ करोड ६० रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै सन नेपाल लाइफले वैदेशिक रोजगार बीमालेख बिक्री गरेको छ । कम्पनीले यस्तो बीमा मार्फत तीन महिनामा १६ करोड ७ लाख रुपैयाँ प्रिमियम सङ्कलन गरेको हो । हाल कम्पनीसँग वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको ७ लाख ३३ हजार ८३४ वटा बीमालेख सक्रिय देखिएको छ ।
दोस्रो स्थानमा रहेको नेपाल लाइफले पनि वैदेशिक रोजगार बीमा मार्फत तीन महिनामा कुल १४ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कुल २ लाख ८२ हजार ९०३ वटा बीमालेख बिक्री गरेको हो ।
तेस्रो स्थानमा रहेको आइएमई लाइफले पनि वैदेशिक बीमा मार्फत ९ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको यस्तो बीमा अन्तर्गत ७ हजार ३६० वटा बीमालेख सक्रिय देखिएको छ ।
यस्तै, नेशनल लाइफले वैदेशिक रोजगार बीमा मार्फत तीन महिनामा ५ करोड ४७ लाख, सूर्यज्योति लाइफले ५ करोड ४४ लाख, रिलायवल नेपालले ५ करोड ७ लाख, सानिमा रिलायन्सले ४ करोड ५० लाख, एशियन लाइफले ४ करोड ४६ लाख, सिटिजनले ३ करोड ४३ लाख र प्रभु महालक्ष्मीले ९ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।













