दोहोरो अङ्कले बढ्यो नागरिक लगानी कोषको नाफा तथा आम्दानी, कस्तो छ वित्तीय अवस्था ?
दोहोरो अङ्कले बढ्यो नागरिक लगानी कोषको नाफा तथा आम्दानी, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौँ । नागरिक लगानी कोषको नाफा दोहोरो अङ्कले वृद्धि भएको छ । तीन महिनामा कोषको नाफा सवा तीन करोडले वृद्धि भएको हो ।
कोषले मङ्गलवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार तीन महिनामा कोषले २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन, गत आवको असोज मसान्तसम्मको तुलनामा १३.८२ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा कोषले २३ करोड लाख २७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कोषको आम्दानी पनि वृद्धि भएको छ, जसले नाफा बढ्न टेवा पुगेको हो । गत वर्षको तुलनामा कोषको आम्दानी १४.६० प्रतिशतले बढेर ४५ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यस्तै समीक्षा अवधिमा कोषको ब्याज आम्दानी पनि २३.०३ प्रतिशतले बढेर १२ करोड ४५ लाख र सेवा शुल्क तथा कमिसन पनि १२.१० प्रतिशतले बढेर ३२ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यद्यपि, कोषको खर्च पनि वृद्धि भएको छ । समीक्षा अवधिमा कोषको कुल खर्च १७.२७ प्रतिशतले बढेर १० करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
कोषका चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ रहेको छ । यस्तो जगेडा तथा कोषका आकार पनि २३.२२ प्रतिशतले बढाएर २३ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
कोषको प्रतिसेयर आम्दानीमा भने केही कमी देखिएको छ । समीक्षा अवधिमा कोषको यस्तो आम्दानी १९ रुपैयाँ ९४ पैसा कायम भएको छ । कोषको प्रतिसेयर नेटवर्थ भने १५९ रुपैयाँ ७९ पैसा रहेको छ ।













