९ श्रावण २०८३, शनिबार

व्यापारमा शिखर र सिद्धार्थ प्रिमियरलाई सलिकोले टप्यो, हिमालयन एभरेष्टको पछिपछि आइजीआई र नेको



काठमाडौं । तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे १० अर्बको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक व्यवसायिक तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको तीन महिना (साउन, भदौ र असोज) मा कम्पनीहरुले कुल १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले तीन महिनामा ६ लाख ८१ हजार ४६४ वटा बीमालेख बिक्री गरेका छन् । असोजमा मात्रै कम्पनीहरुले २ लाख ७२ हजार ४९१ वटा बीमालेख बिक्री गरि कुल ३ अर्ब ३६ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

व्यापारलाई सबै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले टपेको छ । समिक्षा अवधिमा सलिकोले १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । पहिलो त्रैमासमा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले तीन महिनामा ७५ हजार ४७० वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो । असोजमा मात्रै कम्पनीले ४० करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।सो महिनामा कम्पनीले २८ हजार ५१२ वटा बीमालेख बिक्री गरेको हो ।

चालु आवको पहिलो तीन महिनामा सबैभन्दा धेरै व्यापार गर्नेको दोस्रो सूचीमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ ।असोज मसान्तम्ममा कम्पनीले कुल १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तीन महिनामा कम्पनीले ७९ हजार ६९६ वटा बीमालेख बिक्री गरेको छ । असोजमा मात्रै कम्पनीले ३८ हजार ८३५ वटा बीमालेख बिक्री गरि कुल ३३ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

व्यापारको आधारमा शिखर इन्स्योरेन्स भने तेस्रो स्थानमा छ । समिक्षा अवधिमा शिखरले कुल १ अर्ब ४ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । कम्पनीले तीन महिनामा कुल ७५ हजार ९०४ वटा बीमालेख बिक्री गरेको छ । असोज महिनामा मात्रै कम्पनीले ३२ हजार ७१८ वटा बीमालेख बिक्री गरि कुल ३७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

तीनको महिनाको कुल व्यापारको आधारमा चौथो सूचीमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी देखिएको छ । हिमालयन एभरेष्टले असोज मसान्तसम्ममा ९४ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले कुल ६१ हजार १५० वटा बीमालेख बिक्री गरेको हो । एक महिनाकै अवधिमा भने कम्पनीले २३ हजार ७६३ वटा बीमालेख बिक्रीबाट ३० करोड ६१ लाख रुपैयाँ बराबरको व्यापार भित्राएको छ ।

व्यवसायकै आधारमा हिमालयन एभरेष्टलाई आइजीआई प्रुडेन्सियल र नेको इन्स्योरेन्सले पछ्याएका छन् । समिक्षा अवधिमा यी दुई कम्पनीले क्रमश:८६ करोड १५ लाख र ८४ करोड ३ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । तीन महिनाको अवधिमा आइजीआईले ५९ हजार ५०९ वटा बीमालेख बिक्री गरेको छ भने नेकोले ७५ हजार ९१६ वटा बीमालेख बिक्री गरेको छ ।

यस्तै, समिक्षा अवधिमा युनाईटेड अजोडले ७० करोड १८ लाख, एनएलजीले ६७ करोड ५५ लाख, सानिमा जिआईसीले ५९ करोड ९४ लाख, प्रभुले ५६ करोड ५८ लाख, राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ४८ लाख, ओरिण्टलले ५२ करोड ५९ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् ।

यता, चालु आवको पहिलो तीन महिनामा नेपाल इन्स्योरेन्सले ३७ करोड ५२ लाख र नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्