९ श्रावण २०८३, शनिबार

साढे ४ अर्बले बढ्यो समग्र बीमा व्यवसाय: व्यापार विस्तारमा जीवन बीमा अगाडि, वृद्धिदर कस्तो ?



काठमाडौँ । आर्थिक मन्दी लगायतले प्रभावित बनेको बीमा व्यवसाय बिस्तारै लयमा फर्किँदै छ । पछिल्लो समय समग्र बीमा व्यापार वृद्धिदरले गति लिन थालेको हो । आर्थिक सूचकहरू पनि सकारात्मक बन्दै गएकाले पनि यसको प्रभाव बीमा व्यवसायमा देखिन थालेको हो ।

गत आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमास अर्थात् साउनदेखि असोज मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले कुल ४६ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । तर, चालु आवको सोही अवधिमा भने बीमा व्यवसाय ९.९५ प्रतिशतले बढेको छ । गत वर्षको असोज मसान्तको तुलनामा समग्र बीमा व्यवसाय ४ अर्ब ६४ करोड रुपैयाँले बढेर  ५१ अर्ब २५ करोड ९४ लाख रुपैयाँ पुगेको छ । 

अघिल्ला वर्षहरूमा भने बीमा व्यवसायको वृद्धिदर उच्च दोहोरो अङ्कमा हुने गरेको थियो । तर, कोभिड र आर्थिक सङ्कटले प्रभावित बनेको बीमा व्यवसाय उत्साहजनक रूपमा भने बढ्न सकेको छैन । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवको बीमालेख बिक्रीदर भने दबाबमा देखिएका छन् । गत आवको पहिलो त्रैमासको तुलनामा जीवन बीमालेख बिक्री ०.११ प्रतिशत र निर्जीवन बीमालेख बिक्रीदर ०.७३ प्रतिशतले घटेको छ । 

दोहोरो अङ्कले बढ्यो जीवन बीमा व्यवसाय, व्यापारमा नवीकरणकै भर

जीवन बीमा व्यवसाय दोहोरो अङ्कले वृद्धि भएको छ । यद्यपि, नयाँ व्यवसाय भने घटेको छ । जीवन बीमा व्यवसायलाई नवीकरणकै भर पर्नुपर्ने अवस्था छ । 

गत आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले कुल ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । कुल १ करोड ३८ लाख ८३ हजार २५६ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा कम्पनीहरूको बीमाशुल्क आर्जन १४.०५ प्रतिशतले बढेर ४० अर्ब ८० करोड ४६ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा जीवन बीमकहरुले ६ अर्ब ७२ करोड २६ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्राएका छन् ।

तर, यो गत आवको असोज मसान्तसम्मको तुलनामा भने ५.२५ प्रतिशतले कमी हो । यस्तै, चालु आवको पहिलो त्रैमासमा नवीकरण मार्फत जीवन बीमा कम्पनीहरूले ३४ अर्ब ८ करोड २० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । 

दबाबमा निर्जीवन बीमा व्यवसाय, तीन महिनामा साढे १० अर्बको व्यापार 

जीवन बीमा कम्पनीको तुलनामा निर्जीवन बीमा कम्पनीहरू दबाबमा देखिएका छन् । व्यापार वृद्धिदरका हिसाबले निर्जीवन बीमा कम्पनीहरू दबाबमा देखिएका हुन् । 

चालु आवको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूले कुल १० अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । तर, यो गत आवको सोही अवधिको तुलनामामा भने ३.५८ प्रतिशत अर्थात् ८ करोड ७७ लाख रुपैयाँले कमी हो । गत आवको साउनदेखि असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

चालु आवको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूले कुल ६ लाख ६४ हजार ४३६ वटा बीमालेख बिक्री गरेका छन् । तर, गत आवको सोही अवधिमा पनि कम्पनीहरूले ६ लाख ८९ लाख ४६८ वटा निर्जीवन बीमालेख बिक्री गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्