साढे दुई गुणाले बढ्यो नेपाल इन्स्योरेन्सको नाफा, मुख्य सूचकहरु सकारात्मक
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले खुद नाफामा उल्लेख्य सुधार गरेको छ । तीन महिनामै कम्पनीले साढे १४ करोड रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १४ करोड ६१ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको पहिलो त्रैमासको तुलनामा १३५.६२ प्रतिशत अर्थात् २.३५ गुणाले बढी हो । गत आवको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ६ करोड २० लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी पनि दोहोरो अंकले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ११ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेको थियो । तर, यस वर्षको सोही अवधिमा भने १५.८७ प्रतिशतले बढेर १३ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ । कम्पनीको कर्जा तथा लगानीबाट १९ करोड ७१ लाख ६५ हजार रुपैयाँ आम्दानी भएको छ । जुन गत आवको पहिलो त्रैमासको तुलनामा १५४.८९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ७ करोड ७३ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी पनि ८.४० प्रतिशतले बढेर १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । यता, रिटेन्ड अर्निङ्ग पनि ६६.६१ प्रतिशतले बढेर २३ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
तर, कम्पनीको बीमा कोषको आकारमा भने गत वर्षको तुलनामा केही घटेर २ र्ब २१ करोड ३५ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि १८ रुपैयाँले बढेर ३९ रुपैयाँ १२ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने २०२ रुपैयाँ ६१ पैसा कायम छ ।













