९ श्रावण २०८३, शनिबार

सानिमा रिलायन्स र सूर्यज्योतिले बढाए कर्मचारी सुविधा: एशियन र नेपाल लाइफसहित ४ वटाले घटाए, कसले कति खर्चिए ?



काठमाडौँ । जीवन बिमा कम्पनीहरूले आफ्ना कर्मचारीहरूको सुविधा छुट्टाउने रकम बढाएका छन् । कम्पनीहरूको कर्मचारीहरूको सुविधा लागि छुट्टाउने रकम दोहोरो अङ्कले बढाएका हुन् ।

हाल सञ्चालनमा रहेका १४ वटा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

समीक्षा अवधिमा कम्पनीहरूले कर्मचारीको सुविधाका लागि १ अर्ब ५५ करोड ६१ लाख रुपैयाँ बढी रकम छुट्टाएका छन् । जुन गत आवको पहिलो त्रैमासको तुलनामा १३.३५ प्रतिशत अर्थात् १८ करोड ३२ लाख रुपैयाँले बढी हो । गत आवको सो अवधिमा कम्पनीहरूले १ अर्ब ३७ करोड २९ लाख रुपैयाँ छुट्टाएका थिए । 

कर्मचारीलाई खुसी पार्न राष्ट्रिय जीवन बिमा कम्पनी,  सानिमा रिलायन्स, सूर्यज्योति, प्रभु महालक्ष्मी लाइफ अगाडि देखिएका छन् । यी कम्पनीहरूले कर्मचारीहरूका लागि छुट्टाउने रकम उच्च वृद्धि गरेका छन् । 

रकमको आधारमा सबैभन्दा कम भए पनि वृद्धिदरको हिसाबले भने राष्ट्रिय जीवन बिमा कम्पनी पहिलो सूचीमा छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा २ लाख ९४ हजार रुपैयाँ मात्रै छुट्टाएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ३३ लाख ६१ हजार रुपैयाँ पुर्‍याएको छ । 

तर, सानिमा रिलायन्सले भने कर्मचारीहरूका लागि छुट्टाउने रकम १३१.०५ प्रतिशत बढाएर ११ करोड ९६ लाख ७६ हजार रुपैयाँ पुर्‍याएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ५ करोड १७ लाख रुपैयाँ मात्रै छुट्टाएको थिए । 

वृद्धिदरको आधारमा सूर्यज्योति लाइफ दोस्रो सूचीमा छ । कम्पनीले कर्मचारीहरूका लागि छुट्टाउने रकम ७१ प्रतिशतले बढाएर १९ करोड १० लाख रुपैयाँ पुर्‍याएको छ।  गत आवको पहिलो त्रैमासमा यस्तो रकम ११ करोड १७ लाख रुपैयाँ मात्रै थियो । 

तेस्रो सूचीमा रहेको प्रभु महालक्ष्मी लाइफले पनि ४९.१६ प्रतिशत बढाएर १० करोड ४२ लाख रुपैयाँ पुर्‍याएको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीले कर्मचारीहरूका लागि ६ करोड ९४ लाख रुपैयाँ छुट्टाएको थियो ।

यस्तै, समीक्षा अवधिमा सिटिजन लाइफले पनि कर्मचारीहरूको सुविधाका लागि छुट्टाउने रकम २८.२९ प्रतिशतले बढाएर ८ करोड ९१ लाख, नेशनल लाइफले २२.५४ प्रतिशतले बढाएर १२ करोड ७८ लाख, सन नेपालले १८.२९ प्रशितले बढाएर ८ करोड ७१ लाख, रिलायबल नेपालले १०.५१ प्रतिशतले बढाएर ७ करोड र मेट लाइफले १०.४३ बढाएर ९ करोड ७ लाख रुपैयाँ पुर्‍याएको छ । 

यता, आइएमई लाइफको भने यस्तो रकमको वृद्धिदर भने एकल अङ्कमा देखिएको छ । कम्पनीले कर्मचारीहरूको सुविधाका लागि छुट्टाउने रकम ९.२१ प्रतिशतले बढाएर ७ करोड १९ लाख रुपैयाँ पुर्‍याएको छ । 

नेपाल लाइफ र एशियनसहित चार वटाले भने घटाए 

समीक्षा अवधिमा नेपाल लाइफसहित चार वटा कम्पनीले भने कर्मचारीहरूको सुविधाका लागि छुट्टाउने रकम घटाएका छन् । 

समीक्षा अवधिमा सबैभन्दा धेरै हिमालयन लाइफको देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा २५ करोड १३ लाख रुपैयाँ छुट्टाएको थियो । तर, चालु आवको  सोही अवधिको तुलनामा भने १९.६१ प्रतिशतले कमी हो । चालु आवको पहिलो त्रैमासमा भने २० करोड २० लाख रुपैयाँ मात्रै छुट्टाएको छ ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको पनि १५.४२ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनी कर्मचारीहरूको सुविधाका लागि ११ करोड १२ लाख रुपैयाँ छुट्टाएको थियो । तर, चालु आवको सोही अवधिमा भने ९ करोड ४० लाख रुपैयाँ मात्रै छुट्टाएको छ । 

यस्तै, एशियन लाइफको ९.९२ प्रतिशत र नेपाल लाइफको १.३५ प्रतिशतले घटेको छ । पहिलो त्रैमासमा एशियन लाइफले कर्मचारी सुविधाका लागि ९ करोड २ लाख र नेपाल लाइफले २१ करोड ४५ लाख रुपैयाँ छुट्टाएको छ । 


प्रतिक्रिया दिनुहोस्