प्राधिकरणले ताेकेकाे पुँजी पुर्याउन प्रभु इन्स्योरेन्सले नेपाल रिकाे १९ लाख कित्ता सेयर बिक्री गर्दै
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धिकै चटारोमा छ । पुँजी वृद्धिको मामलामा प्रभुले नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) मा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
प्रभुले नेपाल रिमा रहेको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सो संस्थापक सेयरको बिक्री मूल्य भने न्युनतम २८० रुपैयाँ तोकेको छ । उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरु अथवा अन्य संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि न्युनतम १० लाख कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार आगामी मंसिर २६ गते मंगलबारम्म गोप्य सिलबन्दी पोलपत्र पेश गर्नुपर्नेछ । गोप्य सिलबन्दी बोलपत्र भोलिपल्टै अर्थात मंसिर २७ गते बिहान ११ गते बिक्री प्रबन्धक प्रभु क्यापिटलमा खोलिने भएको हो ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्युनतम चुक्ता पुँजी २ अर्बा ५० करोड तोकेको छ । तर, प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ छ । अब कम्पनीलाई न्युनत सवा अर्ब बढी रकम अपुग छ । बाँकी अपुग पुँजी पुर्याउन कम्पनीले नेपाल रिमा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर बिक्री गरेर आउने पैसा पुँजी थप गर्ने कम्पनीले योजना अघि सारेको हो ।
यसअघि नै प्रभुले नेपाल रिमा रहेको संस्थापक सेयर बिक्री गरि पुँजी पुर्याउने भन्दै प्राधिकरणमा आफ्नो क्यापिटल प्लान पेश गरेको थियो । संस्थापक सेयर बिक्रीबाट पनि नपुगे हकप्रद सेयर जारी गर्न दिने प्राधिकरणको तयारी छ ।













