९ श्रावण २०८३, शनिबार

नवीकरणकै भरमा चलिरहेको जीवन बीमा व्यवसाय, नयाँ व्यापारमा अझै किन सङ्कुचन ?



काठमाडौं । जीवन बीमा कम्पनीहरू पुरानै व्यवसायमा निर्भर देखिएको छ । नयाँ व्यवसायभन्दा पनि पुरानै अर्थात् नवीकरण बीमा शुल्कबाटै कम्पनीहरू चलिरहेको पाइएको हो। 

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरूले  नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिकमा कम्पनीहरूले ८ अर्ब ६२ करोड ८५ लाख रुपैयाँ बराबरको मात्रै प्रथम बीमा शुल्क आर्जन गरेका हुन् । यो पनि गत आवको कात्तिक मसान्तसम्मको तुलनामा ५.३६ प्रतिशतले कमी हो । नयाँ व्यवसाय बढ्नुको साटो उल्टै घटी रहेको छ । गत आवको समीक्षा अवधिमा भने कम्पनीहरूले ९ अर्ब ११ करोड ७२ लाख ५५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । 

तर, कम्पनीहरूको पुरानो व्यापार अर्थात् नवीकरण बीमा शुल्क आर्जन भने दोहोरो अङ्कले वृद्धि भएको छ । चालु आवको चौमासिकमा कम्पनीहरूले नवीकरण बीमा शुल्क १०.६२ प्रतिशतले बढाएका छन् । गत आवको कात्तिक मसान्तसम्ममा ३६ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ नवीकरण बीमा शुल्क उठाएका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ३ अर्ब ९१ करोड ८३ लाख रुपैयाँले बढेर ४० अर्ब ८१ करोड २६ लाख रुपैयाँ कायम भएको छ । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण पनि नयाँ व्यवसायमा उत्साह देखिएको छैन । आर्थिक सङ्कटकै कारण आम मानिसहरूमा आम्दानी प्रभावित भएको छ । बजार महँगी बढेको छ भने क्रय (खरिद) शक्ति घटेको छ । त्यो अवस्थामा कतिपय मानिसहरूले बीमालेख नवीकरण  नै गर्न सकेका छैनन् । यस्ता कारण पनि नयाँ व्यवसायमा गिरावट आएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

बढ्दो विश्व व्यापी महँगीका कारण उपभोक्क्ताहरुको जीवनयापनमा लागत बढ्दो छ । त्यसको फलस्वरूप जीवन बीमाको नयाँ व्यवसाय पनि घटेको प्राधिकरणले जनाएको छ । यता, आन्तरिक अर्थतन्त्र शिथिल बन्दा नै बैङ्क, अधिकांश विकास, फाइनान्स तथा वित्त कम्पनीहरूको व्यवसायमा खुम्चिरहेको छ । कम्पनीहरूको नाफा पनि प्रभावित भएको छ । यद्यपि, अब बिस्तारै जीवन बीमा व्यवसायले पनि गति लिने प्राधिकरणको भनाई छ । बैङ्कहरूको ब्याजदर पनि घट्दो क्रममा रहेको र बजार महँगी नियन्त्रण गर्न सम्बन्धित निकायले लिएको नीतिले पनि व्यवसाय बढाउन थप योगदान दिने अपेक्षा गरिएको छ । 

चालु आवको पहिलो चौमासिकमा पनि समग्र जीवन बीमा व्यवसाय ७.४५ प्रतिशतले बढेको छ । गत आवको कात्तिक मसान्तसम्ममा कम्पनीहरूले ४६ अर्ब १ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ३ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ बढाएर ४९ अर्ब ४४ करोड ११ लाख रुपैयाँ पुर्‍याएका छन् । चालु आवको चार महिनामा कम्पनीहरूले १ करोड ३७ लाख १९ हजार ७२५ वटा बीमालेख बिक्री गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस्