बीमा पोलिसी सरेन्डर दरमा व्यापक सुधार: सूर्यज्योति र आइएमईले सर्वाधिक घटाए, एशियनको मात्रै बढ्यो
काठमाडौं । जीवन बीमा पोलिसी सरेन्डर अर्थात् समर्पण गर्ने (त्याग्ने) को सङ्ख्यामा व्यापक सुधार देखिएको छ । असोज महिनाको तुलनामा बीमालेख सरेन्डर गर्नेको सङ्ख्या उच्च दोहोरो अङ्कले घटेको हो ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको कात्तिक महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । असोजको तुलनामा बीमालेख सरेन्डर ३८.६९ प्रतिशतले घटेको छ । कात्तिकमा ६ हजार ९१ वटा बीमालेख मात्रै बन्द गरेका छन् । तर, गत असोजमा भने यस्तो सङ्ख्या ९ हजार ९३६ वटा रहेको थियो । पछिल्लो अवधि (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिसी) को सङ्ख्या र सरेन्डर रकम बढ्दै गएको थियो । तर, कात्तिकमा भने यस्तो सङ्ख्या र रकम दुवै घटेको छ ।
चालु आवको पहिलो चौमासिकमै कुल ४ अर्ब ४४करोड ३२ लाख रुपैयाँ बराबरको ३५ हजार २११ वटा बीमालेख सरेन्डर भएका छन् । यसअघि औसतमा १ अर्ब माथिको पोलिसी सरेन्डर हुने गरेको थियो । तर, कात्तिकमा भने यस्तो क्रम रोकिएको छ । प्राधिकरणका अनुसार कात्तिकमा ७९ करोड ४९ लाख ८९ हजार रुपैयाँ बराबरको मात्रै बीमालेख बन्द गरेका छन् । असोजको तुलनामा सरेन्डर रकम ३८ करोड ७९ लाख रुपैयाँले घटेको तथ्याङ्कले देखाउँछ ।
चालु आवको पहिलो महिना अर्थात् साउनमा पनि १ अर्ब २८ करोड ३३ लाख ८९ हजार रुपैयाँ बराबरको ९ हजार ७८९ वटा बीमालेख बन्द भएका थिए । यस्तै, भदौमा पनि केही घटेर १ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको ९ हजार ३८६ वटा बीमालेख बीमितले त्यागेका थिए ।
नियामकीय कडाइले नै बीमितहरुले पोलिसी त्याग्ने क्रममा सुधार आएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको पोलिसी सरेन्डर कम गर्न लिएको नीतिको कारण नै पोलिसी त्याग्ने क्रममा सुधार हुँदै आएको कार्यकारी निर्देशक पौडेलले बताए ।
प्राधिकरणले बीमालेख खरिद गरेको मितिले तीन वर्षसम्म बीमितले पोलिसी सरेन्डर गर्न नपाउने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले नै सरेन्डर दरमा बिस्तारै सुधार देखिन थालेको पौडेलले बताए । अभिकर्ताले बीमा योजनाका बारेमा बुझाउन नसक्दा र उनीहरूले विभिन्न खाले प्रलोभन देखाएर बीमालेख बिक्री गर्दा पनि समस्या भइरहेको थियो ।
बीमितले पनि बीमा योजनाको बारेमा नबुझेरै बीमालेख गरी गर्ने प्रचलन थियो । तर, पछिल्लो समय प्राधिकरणले अवलम्बन गरेको नीतिले नै यस्तो क्रम रोकिएको छ । पछिल्लो समय बीमितले पनि बीमा योजनाको बारेमा बुझेर आफ्नो आवश्यकता अनुसार बीमालेख खरिद गर्ने अभ्यासको विकास पनि बढ्दै गएको पौडेलले बताए । उनले भने,‘बीमा योजनाको बारेमा नबुझ्दा बीमितले आफ्नो बीमालेखलाई निरन्तरता दिन सक्दैनन् । त्यसपछि बिचमै सरेन्डरको बाटो रोज्छन् । तर, अहिले यस्तो क्रम भने सुधार भएको छ ।’
प्राधिकरणले थालनी गरेको देशव्यापी बीमा सचेतना तथा अन्तरक्रिया र बीमा कम्पनीहरूले पनि यसमा साथ दिएकाले सकारात्मक प्रभाव परेको बताइन्छ । बीमा अभिकर्ताहरूले कमिसनको लोभमा बीमा गराउँदा पनि बीमितहरुले अवधि नपुग्दै बीमालेख त्याग्ने गरेका छन् । बीमालेख खरिद गर्नुअघि बीमितले आफूले खरिद गर्ने बीमाको बारेमा राम्रोसँग बुझ्नुपर्ने पौडेलको सुझाव छ । बुझेर मात्रै बीमालेख खरिद गर्दा सरेन्डर घट्ने र बीमालेखलाई निरन्तरता दिन सहज हुने उनको भनाई छ ।
सूर्यज्योति र आइएमईको सरेन्डर दरमा व्यापक सुधार, एशियन लाइफको झन् बढ्यो
कात्तिकमा एशियन लाइफ बाहेकका सबै कम्पनीहरूको सरेन्डर दर घटेको छ । असोजको तुलनामा एशियन लाइफको सरेन्डर दर ३०.२१ प्रतिशतले बढेको छ । गत असोजमा कम्पनीका बीमितले ७५८ वटा बीमालेख बन्द गराएका थिए । तर, कात्तिकमा भने यस्तो सङ्ख्या ९८७ वटा पुगेको छ । यो रकममा भने ८७.२३ प्रतिशतले बढेको छ । कात्तिकमा एशियन लाइफको सरेन्डर रकम ६ करोड ५१ लाखबाट बढेर १२ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
सो अवधिमा सरेन्डर घटाउन भने सूर्यज्योति र आइएमई लाइफ अगाडि छन् । असोजको तुलनामा सूर्यज्योतिको बीमालेख सरेन्डर ६८.२७ प्रतिशतले घटेको छ । असोजमा कम्पनीका बीमितले ६२१ वटा बीमालेख त्यागेका थिए । तर, कात्तिकमा भने यस्तो सङ्ख्या १९७ मात्रै छ । कात्तिकमा सूर्यज्योतिका बीमितले २ करोड ८४ लाख रुपैयाँ बराबरको पोलिसी बन्द गराएका हुन् ।
यस्तै, आइएमई लाइफको सरेन्डर दर पनि ६०.३६ प्रतिशतले घटेको छ । असोजमा कम्पनीका बीमितले १ करोड ५२ लाख रुपैयाँ बराबरको १६४ वटा बीमालेख बन्द गरेका थिए । तर, कात्तिकमा भने घटेर ४८ लाख बराबरको ६५ वटा मात्रै पोलिसी बन्द भएको छ ।
रकमका र बीमालेखको आधारमा भने नेपाल लाइफको सरेन्डर धेरै देखिएको छ । कात्तिकमा नेपाल लाइफका १ हजार ७७७ वटा बीमालेख (२६ करोड ४३ लाख रुपैयाँ बराबरको) सरेन्डर भएको छ ।
यस्तै, कात्तिकमा एलआईसी नेपालको १७ करोड ४५ लाख रुपैयाँ बराबरको १ हजार १५५ वटा बीमालेख सरेन्डर भएका छन् । समीक्षा महिनामा सबैभन्दा कम सन नेपाल लाइफको (५१ वटा बीमालेख) सरेन्डर भएको छ ।
कात्तिकमा राष्ट्रिय जीवन बीमाको ४५० वटा, नेशनल लाइफको ३९१ वटा, मेट लाइफको १६४, रिलायवल नेपालको ७३, सानिमा रिलायन्सको ९३, हिमालयन लाइफको ४७७ र प्रभु महालक्ष्मीको ५८ वटा बीमालेख बीमितले सरेन्डर गरेका छन् ।














