९ श्रावण २०८३, शनिबार

बीमाका लागि एक नेपालीले वार्षिक कति खर्च गर्छन् ?



काठमाडौं । एक जना नेपालीले वर्षमा बीमाका लागि ६ हजार रुपैयाँ खर्च गर्ने गरेको देखिएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त बीमा घनत्व सम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो । 

तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति बीमा घनत्व ६ हजार ८ रुपैयाँ २७ पैसा देखिएको छ । अर्थात् गत आवमा एक जना नेपालीले बीमा गर्नका लागि ६ हजार ८ रुपैयाँ २७ पैसा खर्च गरेका छन्, जुन अघिल्लो आव २०७८/७९ को तुलनामा २ प्रतिशतले बढी हो । सो आवमा एक जना नेपालीले बीमाका लागि ५ हजार ८९२ रुपैयाँ ९९ पैसा खर्च गरेका थिए ।

नेपालीले बीमा सबैभन्दा बढी रकम खर्च गर्ने देखिएको छ । गत आवमा एक जनाले नेपालीले जीवन बीमामा ४ हजार ६८३ रुपैयाँ २६ पैसा खर्च गरेका छन्, जुन अघिल्लो आवको तुलनामा १.९२ प्रतिशत बढी हो । अघिल्लो आवमा एक नेपाली बराबर ४ हजार ५९४ रुपैयाँ ८३ पैसा जीवन बीमा घनत्व थियो । 

निर्जीवन बीमा तर्फ भने एक व्यक्तिले १ हजार ३२५ रुपैयाँ १ पैसा खर्च गरेको देखिएको छ, त्यो अघिल्लो आवको तुलनामा २.०७ प्रतिशत बढी हो । अघिल्लो आवमा एक जना नेपालीले निर्जीवन बीमामा १ हजार २९८ रुपैयाँ १७ पैसा खर्च हुने गरेको थियो । 

यो नेपालीले बीमामा गर्न औसत खर्च अर्थात् प्रतिव्यक्ति बीमा घनत्व मात्रै हो । तर, अझै पनि ५७ प्रतिशत नेपाली बीमाको दायरा भन्दा बाहिर छन् । कतिपयले नेपालीले बीमामा वार्षिक लाखौँ रुपैयाँ खर्च पनि गर्दै आएका छन् । अधिकांश नेपाली भने बीमा जोडिएकै छैनन् ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार ४२.९८ प्रतिशतमा मात्रै बीमाको पहुँच पुगेको छ । म्यादी, लघु म्यादी, वैदेशिक रोजगार सहित बीमाको पहुँच यति पुगेको हो । तथ्यांकअनुसार म्यादी, लघु म्यादी, वैदेशिक रोजगार बाहेक बीमाको पहुँच १७.४९ प्रतिशत छ । म्यादी र लघु म्यादी जीवन बीमालेख सहित भने ३७.१३ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको देखिन्छ । 

अहिले म्यादी, लघु म्यादी, वैदेशिक रोजगार बाहेकको बीमालेख सङ्ख्या ५६ लाख २२ हजार ४५९ रहेको छ । म्यादी र लघु म्यादी जीवन बीमालेखको सङ्ख्या भने ६३ लाख ११ हजार ६९३ रहेको छ । यसै गरी वैदेशिक रोजगार बीमालेखको सङ्ख्या १७ लाख ८५ हजार ५७३ रहेको छ । यसरी अहिले १ करोड ३७ लाख १९ हजार ७२५ जना नेपाली बीमाको पहुँचमा देखिन्छन् । गत आवको सोही अवधिमा भने १ करोड ३९ लाख ४२ हजार ३०९ जना नेपाली बीमाको पहुँचमा थिए । अहिले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ, त्योअनुसार १ करोड ५४ लाख ४४ हजार ८५३ जना नेपाली बीमाको पहुँच भन्दा बाहिर रहेको देखिन्छ ।

लगानीको दायरा बढाउँदै बीमा कम्पनी

बीमा कम्पनीहरूले लगानीको दायरा पनि बढाउँदै आएका छन् । गत वर्षमा बीमा कम्पनीले ६ खर्ब २८ अर्ब रुपैयाँ बढी लगानी गरेका छन् । जुन अघिल्लो आवको तुलनामा १९.२६ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा कम्पनीहरूले ५ खर्ब २७ अर्ब ३७ करोड रुपैयाँ  लगानी गरेका थिए । बीमा कम्पनीहरूले मुद्दती निक्षेप, सूचीकृत कम्पनीको बण्ड तथा डिबेञ्चर, अग्राधिकार सेयर, बण्ड र डिबेञ्चर, सरकारी बचत पत्र र ऋणपत्र, म्युचुअल फन्ड र नागरिक लगानी कोष, अन्य संस्थापक सेयर, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा र जलस्रोतका क्षेत्रहरूमा लगानी गरेका हुन् ।

यी क्षेत्रमा बीमा कम्पनीहरूले लगानीको दायरा बढाएका हुन् । नियामक निकाय बीमा प्राधिकरणले पनि कम्पनीहरूलाई  लगानीको दायरा बढाउन जोड दिँदै आएको छ । प्राधिकरणका अनुसार कम्पनीहरूले पनि लगानी निर्देशिका अनुसार नै लगानी गरिरहेको जनाएको छ ।

गत आवमा जीवन बीमा कम्पनीहरुले  ५ खर्ब ६९ अर्ब १६ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ५९ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेका हुन् । अघिल्लो आवको तुलनामा जीवन बीमाको लगानीको दायरा २०.२९ प्रतिशत र निर्जीवन बीमाको १०.३२ प्रतिशतले बढेको छ । 


प्रतिक्रिया दिनुहोस्