बीमा क्षेत्रले बढाउँदै रोजगारी, कम्पनीहरूले दिन्छन् मासिक नयाँ ५३ जनालाई जागिर
काठमाडौं । जागिरका लागि बीमा क्षेत्र पनि आकर्षण केन्द्रका रूपमा लिने गरिन्छ । सेवा, सुविधा र पारिश्रमिकका हिसाबले पनि बीमा कम्पनीको जागिर राम्रो नै मानिन्छ । कतिपयले बैङ्कको जागिर छोडेर पनि बीमा क्षेत्र आबद्ध हुनेको सङ्ख्या पनि उत्तिकै बढ्दो नै छ ।
समग्रमा बीमा कम्पनीहरू धेरै रोजगार वृद्धि गर्ने क्षेत्रमा पर्छ । तर, पछिल्लो समय आर्थिक सङ्कट तथा मर्जरका कारण पनि यस क्षेत्रबाट उल्लेख्य रूपमा रोजगारी वृद्धि हुन भने थिएन । यद्यपि, क्रमिक रूपमा सुधार भने देखिएको छ । पछिल्लो समय बीमा कम्पनीहरूको शाखा सञ्जाल तथा कर्मचारीको सङ्ख्या पनि बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार औसतमा मासिक ५३ जनालाई बीमा कम्पनीहरूले रोजगारी दिएका छन् ।
चालु आवको कात्तिक मसान्तसम्ममा बीमा कम्पनीहरूमा कर्मचारीहरूको सङ्ख्या भने ११ हजार ४१८ पुगेको छ । गत असार मसान्तसम्ममा यस क्षेत्रमा ११ हजार २०५ जना कर्मचारी थिए । तर, कात्तिक मसान्तसम्म आइपुग्दा भने थप २१३ वटा जोडिएका छन् । यसका आधारमा औसत ५३ जना कर्मचारीहरू बीमा कम्पनीमा जोडिएका छन् । यद्यपि, चालु आवको चार महिनाको अवधिमा बीमा कम्पनीमा कर्मचारी भित्रने र बाहिरिने कर्मचारीहरूको सङ्ख्यामा भने उतारचढाव देखिएको छ ।
प्राधिकरणका अनुसार गत साउनमा बीमा कम्पनीमा ११ हजार १५२ जना कर्मचारी रहेका थिए । भदौमा भने थप १५९ कर्मचारी थपिएको देखिन्छ । भदौसम्म कर्मचारीहरूको सङ्ख्या ११ हजार ३११ पुगेको थियो । यस्तै, गत असोजमा भने एकै महिना १९७ जना थपिएर ११ हजार ५०८ पुगेको छ । तथ्याङ्क अनुसार कात्तिकमा भने यो सङ्ख्यामा कमी देखिएको छ । कात्तिकसम्ममा बीमा कर्मचारी सङ्ख्या केही घटेर ११ हजार ४१८ कायम भएको छ । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूमा ५ हजार ७६२ जना र निर्जीवन बीमा कम्पनीमा ५ हजार ६५६ जना कर्मचारी आबद्ध छन् ।
मासिक रूपमा बीमा कम्पनीहरूले रोजगारी बढाउँदै गएको प्राधिकरणले जनाएको छ । कम्पनीहरू विशेषगरि व्यवसाय विस्तारमा अग्रसर भएकाले नै कर्मचारीहरू थपिने क्रम बढेको बीमा प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी निर्मल अधिकारीले बताए ।
गत वर्षको तुलनामा भने बीमा कम्पनीमा आबद्ध कर्मचारीहरूको सङ्ख्या ३.४० प्रतिशतले घटेको देखिन्छ । गत वर्षको कात्तिक मसान्तसम्ममा ११ हजार ८२० जना कर्मचारी थिए । गत वर्ष बीमा कम्पनीहरूको मर्जरको लहर चलेको थियो । अधिकांश कम्पनीहरू मर्जरमा गएका कारण पनि कर्मचारीको सङ्ख्यामा कमी आएको थियो । गत वर्षहरूमा विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दी र व्यवसायमा आएका गिरावटले पनि बीमा क्षेत्रले उल्लेख्य रूपमा रोजगार वृद्धि गर्न सकिरहेको थिएन । तर, अहिले भने कम्पनीहरूले नयाँ कर्मचारी धमाधम भर्ना गरी व्यवसाय विस्तारमा लागेको अधिकारीले बताए । उनले भने,‘कम्पनीहरू मर्जरमा जाँदा कर्मचारी र शाखा कार्यालयहरू घटाएका थिए । कतिले अवकाश पनि लिएका थिए । तर, अहिले पुन: बीमा क्षेत्रमा रोजगारी वृद्धि हुन थालेको देखिन्छ ।’
यद्यपि, कर्मचारीहरू थपिने र बाहिरिने क्रममा उतारचढाव नै रहेको उनको भनाई छ । उनले भने,‘कतिपयले काम गर्दागर्दै पनि वैदेशिक रोजगारीमा जाने गरेका छन् । बीमा कम्पनीमा कर्मचारी थपिने र कामै गर्न विदेश जाने प्रचलन पनि बढ्दो नै छ ।’
तर, पछिल्लो समय कम्पनीहरूको व्यवसाय थप विस्तार हुँदै गएको उनले बताए । कर्मचारीहरू थपिँदै जाँदा कम्पनीले थप बलियो बन्दै जाने अधिकारीले बताए । यता, लघुबीमा कम्पनीहरु पनि थपिँदैछन् । लघुबीमामा आवद्ध हुने कर्मचारीहरुको संख्या पनि बढ्दो नै छ । लघुबीमा मार्फत पनि शाखा कार्यालय र कर्मचारीहरु बढदै गएको प्राधिकरणले जनाएको छ ।
कर्मचारी सङ्ख्यासँगै बीमा कम्पनीहरूको शाखा कार्यालयहरूको सङ्ख्या पनि बढ्न थालेको देखिन्छ। गत साउनदेखि यता नै देशभर कम्पनीहरूले थप २८ वटा शाखा कार्यालय स्थापना गरेका छन् । प्राधिकरणका अनुसार गत साउनमा देशभर बीमा कम्पनीहरूको २ हजार ७९९ वटा शाखा कार्यालय थिए । तर, कात्तिक मसान्तसम्म आइपुग्दा भने २ हजार ८२७ वटा पुगेको छ । असोजपछि मात्रै २ वटा कार्यालय थपिएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो बीमा कम्पनीहरूको व्यवसाय पनि बढ्दै गएको छ । चालु आवको पहिलो चौमासिकमा कम्पनीहरूले आफ्नो व्यवसाय ४.७५ प्रतिशतले बढाएका छन् । सो अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले कुल ६२ अर्ब १८ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।













