१० श्रावण २०८३, आइतबार

नेपाल एयरलाइन्सको आम्दानी साढे दुई गुणा बढ्यो, थप जहाज किन्न आवश्यक कार्ययोजना अघि बढाउँदै

नेपाल एयरलाइन्सको आम्दानी साढे दुई गुणा बढ्यो, थप जहाज किन्न आवश्यक कार्ययोजना अघि बढाउँदै



काठमाडौं । नेपाल वायुसेवा निगमको आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । निगमले तीन वर्षमै १४४ प्रतिशतले आम्दानी वृद्धि गरेको हो ।

निगमले गत आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन आव २०७७/७८ को तुलनामा  भने भने साढे दुई गुणा अर्थात् १३ अर्ब १३ करोड रुपैयाँले बढी हो । महालेखा परीक्षकको लेखापरिक्षण प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार आव २०७७/७८ मा निगमको कुल आम्दानी ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो । 

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । निगम बिस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि हुन्छ । निगमले आव अघिल्लो २०७८/७९ मा पनि १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । निगमले पछिल्लो तीन वर्षमै आम्दानी उल्लेख्य रूपमा बढाउँदै गएको देखिन्छ । हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गर्ने निगमले जनाएको छ । 

 निगमले भन्यो,–‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको छ । हामी अझै गुणस्तरीय सेवाका लागि विस्तृत कार्ययोजना बनाई अगाडि बढ्दैछौं ।’

विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रिय तर्फ ४ वटा र आन्तरिक तर्फ २ वटा जहाज उडानमा रहेका छन् । अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको कम्पनीले जनाएको छ ।