१८ श्रावण २०८३, सोमबार

कागज मिलाएर अर्बौको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको त कुरै नगरौँः सांसद वाग्ले



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको बताए । शुक्रवार राजधानीमा आयोजित एक औपचारिकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरूले वित्तीय पारदर्शितामा बाँध्नुपर्छ भन्ने विषयको पक्षधर रहेको बताए । उनले वैदेशिक सहायता निकायहरूले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने बताए ।

डा. वाग्ले भन्छन्, ”यहाँ हरेक नियुक्ति बेचबिखन हुन्छ । नीतिगत सेटिङको हिसाबले नियमावली चैतमा १२ औँ संशोधन गर्नुहुन्छ । कागज मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको कुरै नगरौँ । सबैतिर भ्रष्टाचार, पार्टीहरूको आर्थिक बाटो कमसल पूर्वाधारबाट हुन्छ । ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा (नियमनकारी निकाय नै कब्जा गर्ने), संवैधानिक निकाय कब्जा गरेर नीतिगत रूपमा नै चरम भ्रष्टाचारको युगमा गएका छौँ । यसको अन्त्य हामी गर्छौँ । पूर्वाधारमा पनि यस्तो भइरहेको छ । तीन वटैमा बाहिरबाट पैसा दिनेहरूले पारदर्शी गर नभन्ने हो भने कति छाडा होला ? निरपेक्ष रूपमा अरू केही जान्दैनन् हामी नै हौँ जानकार ७० को दशकमा आए होलान् । तर अहिले हामी संवाद गर्नसक्छौं । तिम्रो कुरा मान्य छैन भनेर निकाल्न सक्ने हैसियत छ । तर जहाँ जहाँ चाहिन्छ त्यहाँ वित्त सर्त आवश्यक छ ।”

देशको विकासमा सानो हिस्सा ओगटेको वैदेशिक सहायतामा भन्दा देश विकासमा कर र प्रत्यक्ष वैदेशिक लगानीको प्रभावकारीबारे चर्चा गर्नु पर्ने आजको मुख्य आवश्यकता रहेको उनको भनाई थियो । ”देश वैदेशिक सहायतामा होइन, विदेशबाट पठाएको विप्रेषण आप्रवाहबाट जोग्गिरहेको छ, ” डा. वाग्लेले बताए ।