दुई विकास बैंकसहित एकैदिन ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका, कुनको लाभांश कति ?
काठमाडौं । सोमबार आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । आज लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, छिमेक लघुवित्त, सुपरमादी हाइड्रोपावर, बिन्ध्यबासिनी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि मंगलबार अर्थात पुस १७ गते बुकक्लोज गर्दैछन् । सोही कारण आजसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
लुम्बिनी विकास बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस र करसहित ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सो लाभांश पारितका लागि बैंकले आगामी पुस २६ गते साधारण सभा बोलाएको छ । बैंकको साधारण सभा अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
यस्तै, गरिमा विकास बैंकले पनि आफ्ना सेयरधनीलाई यो वर्ष १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सो लाभांश पारितका लागि पुस २९ गते साधारण सभा बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
छिमेक लघुवित्तले पनि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत १० प्रतिशत नगद लाभांश दिने भएको छ । सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते, आइतबार, होटल सामना प्रा.लि. मकवानपुरमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यसैगरी, सुपर मादी हाइड्रोपावरले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कर बाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते, शनिबार, होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा सभा बोलाएको छ।
यता, बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न पुस २६ गते साधारण सभा बोलाएको छ।
यो वर्ष आफ्ना सेयरधनीलाई रु रु जलविद्युत परियोजना लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्ताव पारित गर्न कम्पनीले पुस २५ गते बुधबार साधारण सभा बोलाएको हो। कम्पनीको सो सभा लिसरा रेसेप्सन, नक्साल, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ।













