निर्जीवन बीमा भुक्तानीबाट नेपाल भित्रियो झन्डै ८४ करोड, बाहिरिने रकम कति ?
काठमाडौँ । निर्जीवन बीमा भुक्तानी बापत नेपाल भित्रने रकम बढेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा निर्जीवन बीमा भुक्तानी बापत ८३ करोड ७६ लाख रुपैयाँ नेपाल भित्रिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९४३ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आवको पहिलो चार महिना निर्जीवन बीमा दाबी भुक्तानी बापत ८ करोड ३ लाख रुपैयाँ भित्रिएको थियो ।
समीक्षा अवधिमा निर्जीवन बीमा दाबी भुक्तानी मार्फत भने ३ करोड ३६ लाख रुपैयाँ बाहिरिएको छ, यो गत आवको सोही अवधिको तुलनामा बढी हो । गत आवको समीक्षा अवधिमा ३१ लाख रुपैयाँ मात्रै बाहिरिएको थियो ।
समग्रमा निर्जीवन बीमाको अन्तर्राष्ट्रिय दाबी भुक्तानीमा चालु आवको ४ महिनामा ८० करोड ४१ लाख र गत आवको सोही अवधिमा ७ करोड ७२ लाख रुपैयाँ नाफा भएको देखिन्छ ।
तथ्यांकअनुसार गत आव भरमा भने निर्जीवन बीमा दाबी भुक्तानी बापत १ अर्ब ३ करोड ३९ लाख भित्रिएको थियो । गत आवमा मार्फत भने ८४ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो । समग्रमा गत आवमा अन्तर्राष्ट्रिय निर्जीवन दाबी भुक्तानीमा १९ करोड ९ लाख रुपैयाँ नाफा भएको देखिन्छ ।
नेपालका निर्जीवन बीमा कम्पनीहरूले विदेशका पुनर्बीमा कम्पनीमा आफ्नो व्यवसायको पुनर्बीमा गरेका हुन्छन् । नेपालको पुनर्बीमा कम्पनीले पनि विदेशी पुनर्बीमा कम्पनीमा रेट्रोसेसन गर्ने गरेको हुन्छन् । यसै गरी कतिपय एयरलाइन्स कम्पनी, ठुला ठुला जलविद्युत् आयोजनाले सिँधै विदेशी बीमा कम्पनीमा बीमा गरेका हुन्छन् । त्यसमा दाबी परेमा विदेशबाट पैसा आउँछ, यो सोही बापत आउने दाबी रकम हो ।
यसै गरी नेपालमा सञ्चालित पुनर्बीमा कम्पनीहरूले विदेशी कम्पनीहरूको पुनर्बीमा गरिरहेका हुन्छन् । त्यस्ता बीमाको दाबी परेमा नेपाली पुनर्बीमा कम्पनीले विदेशमा दाबी भुक्तानी दिनुपर्ने हुन्छ, सोही मार्फत बाहिरिने पैसा पनि यसमा समावेश गरिएको छ ।













