१० श्रावण २०८३, आइतबार

सरकारले किन दिएन १० महिनादेखि सहुलियत कर्जाको ब्याज अनुदान ?



काठमाडौं । बिगत १० महिनादेखि सरकारले बैंकहरुलाई सहुलियतपुर्ण कर्जाको अनुदान रकम पनि भुक्तानी नगरेको देखिएको छ । यसको प्रभावकारीता र स्रोत अभावको कारण देखाउँदै सहुलियतपूर्ण कर्जा प्रवाह प्रवाह (नयाँ) बन्द नै भइसकेको छ । त्यसमाथि सरकारले पुरानै कर्जाको सहुलियत रकम समेत नदेखिएको हो ।

सरकारको व्याज अनुदान समेत पाउने गरि बैंकहरुले २ खर्ब ४४ अर्ब ९२ करोड ९९ लाख कर्जा प्रवाह गरेका थिए । अब त्यसमा १ खर्ब ८४ अर्ब ५० लाख असुल हुन बाँकी छ ।

यसमा सरकारले गत फागुन मसान्तसम्म २२ अर्ब ३९ करोड ८ लाख १६ हजार अनुदान बैंकहरुलाई दिएको थियो । पछिल्लो पटक सरकारले फागुनमा २ अर्ब ५७ करोड ८४ लाख ९० हजार अनुदान दिएको थियो । त्यसपछि यसबापतको अनुदान सरकारले दिन सकेको छैन । स्रोत अभावकै कारण सरकारले व्याज अनुदान दिन नसकेको बताइएको छ ।

सरकारले गत आवमा १३ अर्ब र चालु आवमा ११ अर्ब रुपैयाँ बजेट छुट्टाएको थियो । तर, सरकारले गत आवको चैत देखि नै यस्तो पैसा दिएको छैन । पछिल्लो समय भएको आर्थिक शिथिलताले बैंकहरुको नाफा प्रभावित भएको छ । त्यो अवस्थामा सरकारबाट पाउनुपर्ने समेत पैसा नपाएपछि बैंकहरु झन् समस्या भएको बैंकरहरु बताउछन् । सरकारले यथाश्रिघ त्यस्तो पैसा भुक्तानी गर्नु पर्ने एक बैंकका सीईओ बताए ।

सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरूले २०७२ देखि सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएका थिए । तत्कालीन समयमा कृषि क्षेत्रमा मात्रै सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको थियो । तर, पछिल्लो समय विभिन्न १० वटा शीर्षकमा यस्तो कर्जा दिने गरिएको थियो । त्यसमा शीर्षकअनुसार न्यूनतम दुई लाख रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिन्थ्यो ।

सहुलियतपूर्ण कर्जामा बैंकहरूले आफ्नो आधार दरमा २ प्रतिशत विन्दु प्रिमियम थप गरेर ब्याजदर निर्धारण गर्छन् । त्यसअन्तर्गत सरकारले महिला उद्यमशील कर्जाको ब्याजदरमा ६ प्रतिशत विन्दु र अन्य कर्जाको ब्याजदरमा ५ प्रतिशत विन्दुका दरमा अनुदान दिनुपर्छ । त्यसमा ऋणीले सरकारबाट प्राप्त अनुदान ब्याज कट्टी गरेर बाँकी ब्याज तिर्नुपर्छ । तर, सरकारले त्यस्तो पैसा दिन सकेको छैन, यता ऋणीले भने पैसा तिर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्