सर्वोत्तम सिमेन्टको आइपीओ बिक्री खुला, न्यूनतम ५० कित्ता भर्नु पर्ने !
काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज अर्थात पुष २५ गतेदेखि आइपीओ निष्कासन गरेको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं। ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं। १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं। २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं। १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं। ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं। ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गरेको छ । साथै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ६७ हजार कित्ता आइपीओ जारी गरेको छ ।
लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। जसमा न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले छिटोमा माघ १० गते र ढिलोमा माघ २५ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १० गतेसम्ममा आवेदन दिनु पर्नेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।













