८ श्रावण २०८३, शुक्रबार

निर्जीवन बीमा कम्पनीको नाफा ३ अर्ब: नेपाल इन्स्योरेन्स र सिद्धार्थ प्रिमियरको छलाङ, नेशनल कसरी पुग्यो घाटामा ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले ६ महिनामा ३ अर्ब बढी खुद नाफा कमाएका छन् । कम्पनीहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

समीक्षा अवधिमा सञ्चालनमा रहेको १४ वटा निर्जीवन बीमकहरुले ३ अर्ब ८५ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्। कम्पनीहरूको यो नाफा गत वर्षको तुलनामा भने ४२.६५ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले २ अर्ब १० करोड ९० लाख ६१ हजार रुपैयाँ नाफा कमाएका थिए । 

दोस्रो त्रैमासमा  सबैभन्दा धेरै नाफा कमाउनेका पहिलो सूचीमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ । ६ महिनामा कम्पनीले ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा भने २३२.३४ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १४ करोड ९७ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।  नाफा वृद्धिदरमा पनि कम्पनीको पहिलो सूचीमा नै छ । 

धेरै नाफा कमाउनेको दोस्रो स्थानमा रहेको राष्ट्रिय बीमा कम्पनीले ४२ करोड ७२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा भने १४.१८ प्रतिशत मात्रै धेरै हो । 

नाफा वृद्धिको दोस्रो सूचीमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भने ३६ करोड ९ लाख रुपैयाँ कमाएको छ । यो कम्पनीको यो नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा ११७.३४ प्रतिशत बढी हो । 

दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा बढाउनेमा नेपाल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर र दि ओरियण्टल इन्स्योरेन्स रहेको छ । तेस्रो नम्बरमा रहेको दि ओरियण्टलले पनि नाफा १००.७२ प्रतिशत बढाउन सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले २५ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको हो । 

सञ्चालनमा रहेका १३ वटा कम्पनीहरूको नाफा बढ्दा नेशनल इन्स्योरेन्स भने नोक्सानीमा देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा १६ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको कम्पनी यो वर्षको सोही अवधिमा भने १ करोड ७ लाख रुपैयाँ नोक्सानीमा छ । 

चालु आवको ६ महिनामा शिखर इन्स्योरेन्सले २५ करोड ११ लाख, नेकोले २२ करोड १२ लाख, सगरमाथा लुम्बिनीले  २० करोड ८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, हिमालयन एभरेष्टले १८ करोड ४३ लाख, आइजीआई प्रुडेन्सियलले १८ करोड ३७ लाख, युनाइटेड अजोडले  १३ करोड १८ लाख, प्रभुले १० करोड ८६ लाख, सानिमा जिआईसीले १० करोड ५५ लाख र एनएलजी इन्स्योरेन्सले ८ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका छन् । 

कुनको नाफा कति ?


प्रतिक्रिया दिनुहोस्