८ श्रावण २०८३, शुक्रबार

साढे ३ अर्बले बढ्यो जीवन बीमा व्यवसाय: व्यापार वृद्धिमा नेशनल र प्रभु महालक्ष्मी अगाडि, कस्तो छ प्रतिस्पर्धा ?



काठमाडौं । जीवन बीमा कम्पनीको व्यापार साढे ३ अर्बले बढेको छ । नेपाल बीमा प्राधिकरणबाट हालै प्राप्त चालु आर्थिक वर्षको माघ मसान्तसम्मको जीवन बीमा व्यवसायको तथ्याङ्कले यस्तो देखाएको हो ।

हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले ७ महिनामा ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ बराबरको व्यापार (बीमा शुल्क आर्जन) गरेका छन् । तर, यो गत आवको सोही अवधिमा तुलनामा भने ४.१८ प्रतिशत अर्थात् ३ अर्ब ४८ करोड ९४ लाख रुपैयाँले बढी हो । गत आवको माघ मसान्तसम्म कम्पनीहरुको बीमा शुल्क आर्जन ८३ अर्ब ३९ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

सो अवधिमा कम्पनीहरुको नयाँ व्यवसाय १६ अर्ब ११ करोड ६ लाख ४१ हजार रुपैयाँ रहेको छ । यस्तै, नविकरणमार्फत ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । ७ महिनामा कम्पनीहरुले कुल १ करोड ३७ लाख ७३ हजार ३१५ वटा बीमालेख जारी गरेका छन् ।

समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा, सन नेपाल र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको मात्रै व्यापारमा गिरावट आएको छ । तर, यी बाहेकका कम्पनीहरुको भने वृद्धि भएको छ । समिक्षा अवधिमा सबैभन्दा धेरै बीमा शुल्क राष्ट्रिय जीवन बीमा कम्पनीको घटेको छ । कम्पनीको व्यापार २३.१५ प्रतिशत घटेर ४ अर्ब ९८ करोड १९ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, सन नेपाल लाइफको पनि ७.४३ प्रतिशत घटेर २ अर्ब १२ करोड १४ लाख रुपैयाँमा झरेको छ । यस्तै, एलआइसी नेपालीको बीमा शुल्क आर्जन झिनो गिरावट आइ १० अर्ब १४ करोड ६९ लाख रुपैयाँ कायम भएको छ ।

व्यवसायमा नेपाल लाइफकै अग्रता, व्यापार वृद्धिमा भने प्रभुमहालक्ष्मी र नेशनल अगाडि

सात महिनाको तथ्याङ्क अनुसार व्यापारमा नेपाल लाइफकै अग्रता देखिएको छ । सो अवधिमा कम्पनीले २३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा भने ७.२० प्रतिशत बढी हो ।

तर, व्यापार वृद्धिमा भने प्रभु महालक्ष्मी लाइफ र नेशनल लाइफ अगाडि देखिएका छन् । समिक्षा अवधिमा प्रभु महालक्ष्मीको बीमा शुल्क आर्जन १२.४६ प्रतिशत बढेर २ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ कायम भएको छ। यता, नेशनल लाइफको पनि ११.९० प्रतिशत वृद्धि भई १० अर्ब ५ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, नाफा वृद्धिदरकै आधारमा हिमालयन लाइफ र रिलायवल नेपालबीच प्रतिस्पर्धा देखिएको छ । यी दुवै कम्पनीको व्यापार वृद्धिदर करिव उस्तै उस्तै छ ।

समिक्षा अवधिमा हिमालयन लाइफको बीमा शुल्क आर्जन १०.७९ प्रतिशत बढेर ९ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यता, रिलायवल नेपालको पनि १०.७४ प्रतिशत बढेर २ अर्ब ३० करोड ९९ लाख रुपैयाँ पुगेको छ।

समिक्षा अवधिमा सूर्यज्योतिको व्यापार ३.४४ प्रतिशत, एशियनको ७.९७, सानिमा रिलायन्सको ३.४७, सिटिजनको ४.०१, मेट लाइफको ८.२५ र आइएमई लाइफको ७.८२ प्रतिशत वृद्धि भएको छ ।

७ महिनामा कुन कम्पनीको व्यापार कस्तो ?


प्रतिक्रिया दिनुहोस्