८ श्रावण २०८३, शुक्रबार

२७.६५ प्रतिशत बढ्यो बीमा कर्मचारीको बोनस: कर्मचारी खुसी पार्न जीवन कि निर्जीवन बीमा कम्पनी धेरै सीपालु ?



काठमाडौं । बीमा कम्पनीका कर्मचारीहरुले पाउने बोनस सुविधा २७.६५ प्रतिशतले वृद्धि भएको छ । ६ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको बोनस सुविधाका लागि ५ अर्ब बढी खर्चिएका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल जीवन र निर्जीवन तर्फ १४/१४ वटा बीमा कम्पनी संचालन छन् ।

चालु आवको ६ महिनामा कम्पनीहरुले कर्मचारी बोनस सुविधाका लागि ५ अर्ब २२ करोड १६ लाख ३३ हजार रुपैयाँ खर्चिएका छन् । जुन गत आवको दोस्रो त्रैमासको तुलनामा २७.५४ प्रतिशत बढी हो । गत वर्ष कम्पनीहरुले ६ महिनामा ४ अर्ब ९ करोड ४ लाख ३८ हजार रुपैयाँ खर्चिएका थिए ।

बीमा कम्पनीहरूले खुद मुनाफाको १० प्रतिशत कर्मचारीका लागि छुटाउने पर्ने व्यवस्था छ । बोनस ऐन अनुसार नै कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ । सोही बमोजिम बीमा कम्पनीहरूले कर्मचारी बोनस व्यवस्था बापत सो रकम छुट्ट्याएका हुन् ।

विवरण अनुसार सबैभन्दा धेरै बोनस जीवन बीमा कम्पनीहरुले नै बाँड्ने गरेका छन् । समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारी बोनसका लागि २ अर्ब ८९ करोड ७ लाख ६३ हजार रुपैयाँ खर्चिएका छन् । यता, निर्जीवन बीमा कम्पनीहरुले पनि २ अर्ब ३३ करोड ८ लाख ६९ हजार रुपैयाँ कर्मचारी बोनस सुविधामा खर्चिएका छन् । तर, बोनस रकम वृद्धिदरमा भने निर्जीवन बीमा कम्पनीहरुले अगाडि छन् । समिक्षा अवधिमा निर्जीवन बीमा कर्मचारीहरुले पाउने बोनस ५२.१२ प्रतिशत र जीवन बीमाको १३ प्रतिशतले वृद्धि भएको छ।

जीवन बीमा तर्फ हिमालयनको सबैभन्दा धेरै, वृद्धिदरमा सानिमा रिलायन्स

समिक्षा अवधिमा सबैभन्दा धेरै बोनस हिमालयन लाइफले खर्चिएको देखिएको छ । कम्पनीले ६ महिनामा ४२ करोड ९५ लाख रुपैयाँ कर्मचारी बोनस सुविधाका लागि खर्चिएका हो । यस्तै, नेपाल लाइफले पनि ४० करोड ११ लाख रुपैयाँ खर्चिएको छ । तर, कर्मचारी खुसी पार्न भने सानिमा रिलायन्स लाइफ अगाडि देखिएको छ । कम्पनीले कर्मचारीहरुको बोनसका लागि खर्चिने रकम ११३.८९ प्रतिशत बढाएको छ । चालु आवको ६ महिनामा कम्पनीले २० करोड ३७ लाख रुपैयाँ खर्चिएको छ।

यस्तै, सूर्यज्योतिले पनि २१.१० प्रतिशत, नेशनल लाइफले ४५.९९ प्रतिशत, प्रभु महालक्ष्मीले ५५.२८ प्रतिशत, रिलायवलले ३६.५९ प्रतिशत, आइएमई लाइफले २१.४९ प्रतिशत बढाएको छ।

कुन जीवन बीमा कम्पनीले कर्मचारी बोनसका कति खर्चिए ?

निर्जीवन बीमा कम्पनी: कर्मचारी बोनसमा सिद्धार्थ प्रिमियर र सलिको शीर्ष सूचीमा, अन्य कसले कति खर्चिए

निर्जीवन बीमा कम्पनी तर्फ भने सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी शीर्ष सूचीमा देखिएका छन् ।

६ महिनामा सिद्धार्थ प्रिमियरले कर्मचारीहरुको बोनस व्यवस्थाका लागि खर्चिने रकम ८९.७४ प्रतिशत बढाएर २५ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ । दोस्रो सूचीमा रहेको सगरमाथा लुम्बिनीले पनि १०४.२९ प्रतिशत बढाएर २५ करोड ३५ लाख रुपैयाँ कर्मचारी बोनस सुविधाका लागि खर्चिएको छ ।

यस्तै, शिखरले पनि २३ करोड ५५ लाख, आइजीआइ प्रुडेन्सियलले २० करोड ५५ लाख, युनाईटेड अजोडले २० करोड ३३ लाख र नेकोले पनि २० करोड २८ लाख रुपैयाँ खर्चिएका छन् । सबै निर्जीवन बीमा कम्पीहरुले कर्मचारीहरुको बोनस खर्च बढाएका छन् ।



प्रतिक्रिया दिनुहोस्