१५ श्रावण २०८३, शुक्रबार

विदेशी बन्दीगृह र अस्पतालमा उपचाररत श्रमिकको तथ्यांक उपलब्ध गराउन श्रम मन्त्रीको निर्देशन



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन् ।

गन्तब्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्यांक उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिएका हुन् ।

सोमबार वैदेशिक रोजगार बोर्डसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको बिषयमा सरकार जानकार हुनुपर्ने बताए । उनले श्रमिक बन्दीगृहमा पर्नुको कारण र समस्या समाधानका बिषयमा समेत जानकारी गराउन निर्देशन दिए ।

सबै गन्तब्य मुलुकबाट तथ्यांक संकलन उद्धार तथा समस्या समाधानको योजना बनाईने समेत बताए । ‘विदेशी हस्पिटलमा रहेका श्रमिकका स्थानिय अस्पतालसँग सहकार्य गरी नेपालमा नै उपचार गरिने व्यवस्था मिलाईनेछ । बन्दीगृहमा रहेका श्रमिकलाई कानुनी उपचारको लागि आवश्यक सहयोग गर्नेछौ,’ उनले भने । त्यस्तै, विदेशमा अड्किएका शवलाई पनि जतिसक्दो छिटो नेपाल झिकाईने व्यवस्था गरिने उनले जानकारी गराए ।

बोर्डका कर्मचारीसँगको छलफलमा मन्त्री अर्यालले विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बिमाको सुविधाको बिषयमा पनि पहल गर्न बोर्डलाई निर्देशन दिएका छन् ।

विदेशी मुलकले आप्रवासी श्रमिकलाई बिमाको सुविधा प्रदान गरेका हुन्छन् । तर, सबै नेपाली श्रमिकलाई यस बिषयमा जानकारी नहुन सक्छ । त्यसैले धेरै श्रमिक यो सुविधाबाट बन्चित भएको सुनेको छु । यस्तो सुविधाबाट नेपाली श्रमिकले पाउने अर्बो रुपैयाँ बाँकी रहेको जानकारी पाएको छु,’ उनले भने । त्यसैले नेपाली श्रमिकले पाउने यस्तो सुविधाको लागि पहल गर्न उहाँले बोर्डलाई निर्देशन दिए ।

त्यस्तै छलफलमा श्रम सचिव केवल प्रसाद भण्डारीले वैदेशिक रोजगार बोर्डलाई श्रमिकको कल्याणकारी कार्यमा संवेदनशिल हुन समेत आग्राह गरे । ‘बोर्डले श्रमिकको मुद्धामा संवेदनशिल नभएको गुनासो छ । त्यसैले आफनो जिम्मेवारी प्रति सचेत हुनुहोस,’ उनले भने । त्यस्तै, सोमबार मन्त्री अर्यालले नेपालका श्रम गन्तब्य मुलुक मलेसिया, कतार, साउदी अरब, युएई, बहराईन, ओमान, दक्षिण कोरिया र कुवेतका श्रम सहचारी तथा श्रम काउन्सलरसँग श्रमिकको समस्याको बिषयमा भरर्चुल छलफल गरेका थिए ।