राजनीतिक ‘स्टन्ट’ गर्नेलाई मेरो चरित्रको प्रमाण दिनु आवस्यक छैनः विनोद चौधरी
काठमाडौं। नेपाली कांग्रेसका सांसद एवम् उद्योगी विनोद चौधरीले सरकार र प्रहरीले आफूमाथि ‘स्टन्ट’ गर्न खोजेको आरोप लगाएका छन् । बिहीबार विहान प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)मा बयान दिएर निस्किएपछि उनले यस्तो आरोप लगाएका हुन् ।
चौधरीले आफूलाई गोप्य पत्र भनेर दिएको पत्र नै देशभरका सञ्चारमाध्यममा छापछाप्ति हुनुले आफूमाथिको ‘नियोजित हमला’लाई पुष्टि गरेको उनले बताए । उनले यस प्रकारका राजनीतिक स्टन्ट गर्नेहरुलाई आफ्नो चरित्रको प्रमाण दिनु आवस्यक नभएको बताए ।
देशमा सबैभन्दा ठूलो औद्योगिक ग्राम स्थापना गर्ने घरानालाई केवल १० रोपनी जमीन हडप्न कोसिस गरेको आरोप लगाउनु आफैंमा ‘नाजायज’ भएको उनको दाबी छ । आजभन्दा ४२ वर्षअघि बाँसबारीको सुनसान भागको जग्गा वास्तवमै कौडीको भाऊमा समेत विक्री नहुने अवस्थामा रहेको उनले बताए ।
काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले छानबिन गरिरहेको छ।
त्यस्तो जग्गामा त्यसबेला सार्वजनिक निजी साझेदारीको उत्कृष्ठ नमुनाको रुपमा उद्योग स्थापना गरिएको घटनालाई अहिले उल्टै राजनीतिक स्टन्टको रुपमा प्रयोग गरिएको भन्दै उनले गृहमन्त्री रवि लामिछानेतर्फ इंगित गर्दै सरकारको आलोचना गरे ।
यसअघि बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा सीआईबीले चौधरीसँग बयान लिएको छ। सीआईबीलाई बयान दिएपछि सांसद चौधरीले आफूमाथि राजनीतीकरण गरिएको पत्रकारसँग बताएका हुन् ।
‘उद्यमलाई राजनीतीकरण गर्ने, उद्यमीलाई राजनीतीकरण गर्ने, लगानीकर्ता र करदातालाई राजनीतीकरण गर्ने कुरा प्रस्टसँग देखियो,’ उनले भने । उनले उद्यमी र निजी क्षेत्रलाई राजनीतिक स्टन्टका गतिविधिबाट टाढा राख्नुपर्ने सुझाव समेत दिए।
‘सीआईबी कार्यालयमा उभिएर पत्रकारलाई यो कुरा भनिरहँदा नेपाल र विश्वभरका युवाले, नेपालका रोजगारदाताले, करदातालाई जाने सन्देशप्रति पनि राज्यले ख्याल गर्नुपर्ने हो। उद्यमी राजनीतिक स्टन्टबाट परै हुन्छन् भन्ने कुरा बुझ्नुपर्छ। मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु छैन। जग्गा प्रकरणमा मेरो कुनै संलग्नता छैन’, उनले भने ।
सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमिता प्रकरणमा अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ मा पक्राउ गरेको थियो। अदालतको आदेशपछि अरुण रिहा भइसकेका छन्।













