१५ श्रावण २०८३, शुक्रबार

संसदबाट नभ्याए अध्यादेशबाट दर्जन कानून संशोधन गर्ने अर्थमन्त्रीको उद्घोष



वीरगन्ज । अर्थमन्त्री वर्षमान पुनले तेस्रो लगानी सम्मेलनको पूर्व तयारीका निम्ति अध्यादेशबाट भए पनि एैन संशोधन गर्न सरकार तयार रहेको बताएका छन् । शनिबार वीरगन्जमा आयोजना भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । लगानी संकुचन गर्ने ठानिएका दर्जन कानून अध्यादेशमार्फत संशोधन गरिने मन्त्री पुनको भनाइ थियो ।

त्यसका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गरिने उनले बताए । ‘भरसक संसदबाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानून संशोधन गर्छौं । लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउँछौं’ मन्त्री पुनले भने ।

तेस्रो लगानी सम्मेलन आगामी १६ र १७ वैशाखमा हुँदैछ ।

आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गरिने मन्त्री पुनको भनाइ थियो । निराशालाई आशामा बदल्ने प्रतिबद्धतासहित विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ आफू १२ वर्षपछि अर्थ मन्त्रालय फर्किएको उनले उल्लेख गरे ।

विदेशी मुद्राको संचिति बढेको, महंगी घटेको, बिप्रेषण आप्रवाह बढेको जस्ता कारणले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको उनको भनाइ थियो ।

उनले आफू जिम्मेवारीमा आएपछि ७० अर्ब बजारमा पठाएको, दायित्व भुक्तानी दिन सुरु गरिएको भन्दै बजार चलायमान हुने दाबी गरे ।