शिथिलता चिरेर अर्थतन्त्रले लय पक्रँदै थियो, अब भङ्ग हुने खतरा देखेको छु: पूर्व अर्थमन्त्री महत
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक निजी क्षेत्र रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औं वार्षिक साधारण सभालाई सम्बोधन पूर्वअर्थमन्त्री डा. महत भने, ‘नेपाली कांग्रेसले निजी क्षेत्रको महत्वलाई बुझ्दछ, ०४६ सालको परिवर्तनसँगै जुन आर्थिक वृद्धिको श्रृङ्खला अगाडि बढ्यो, त्यसमा नेपाली कांग्रेसले लिएको नीति महत्वपूर्ण हो ।’
निजी क्षेत्रमा सक्रिय सहभागिता र राज्यको तर्फबाट समर्थन, सहयोग गर्ने कांग्रेसको नीति रहेको उनले बताए । त्यसले नेपालको आर्थिक वृद्धिलाई अर्को स्तरमा पुर्याएको महतले दावी गरे । उनले भने, ‘नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको टोकन सहभागिता थियो, खास गरेर आयात निर्यातमा मात्र सीमित भएको निजी क्षेत्रको सहभागितालाई विस्तार गर्यो ।’
पूर्वमन्त्री डा. महतले भने, ‘पछिल्लो चरणमा म अर्थमन्त्री भएँ, पहिलो चरणको सुधार ०४६ पछि प्रारम्भ भएको हो । दोस्रो चरणको सुधार प्रारम्भ गर्ने काम हामीले गर्यौं, यसमा निरन्तर निजी क्षेत्रको सुझाव, सल्लाह र सहभागितालाई उच्च महत्व दिएको कुरा तीनवटै उद्योग व्यवसायीको छाता संगठनका साथीहरुलाई राम्रोसँग थाहा छ ।’
जबसम्म राज्यसंयन्त्र पारदर्शी, अनुशासित हुँदैन, बजेटरी सिस्टममा नचल्दासम्म राज्य प्रभावकारी हुन नसक्ने उनले बताए ।राज्य विभेदकारी भयो भने राज्य वितरणमुखी र पार्टीमुखी मात्र भयो भने देशले अपेक्षा गरेको आर्थिक वृद्धि सम्भव नहुने बताए ।
‘यी कुरालाई मूलमन्त्र बनाएर हामी पछिल्लो गठबन्धन सरकारमा सक्रिय भएका हौं । नेपालमा लगानी पठाउनका लागि तीनवटै निजी क्षेत्रको संगठनलाई सदस्य बनाएर के–कस्ता अप्ठ्यारा छन्, के कस्ता सुधारका आवश्यकता छ, कहाँ झन्झट र अप्ठ्यारो निजी क्षेत्रले महसुस गरेको छ ? भन्ने कुरालाई मध्यनजर गरेर उहाँहरुलाई हस्ताक्षर गराएर अर्थमन्त्रालयको तहबाट मन्त्रिपरिषद्मा पुर्याएको हो,’ उनले भने, ‘त्यही कुरालाई कानुनी रुप दिएर लगानी सम्मेलनमा थप ऊर्जा प्रदान गर्ने हाम्रो लक्ष्य थियो । बजेटलाई हामीले सिस्टममा ल्याउँदैछौं ।’
डा. महतले भने, ‘दोस्रो चरणको सुधारको प्रारम्भ हामीले गरेका थियौं, त्यसलाई निरन्तरता भयो भने जसरी ०४६ पछि आर्थिक वृद्धिदरमा नयाँ प्राम्भ भएको थियो, फेरि त्यो अझै हुनसक्छ । तर वितरणमुखी बाटोमा जाने, निजी क्षेत्रसँग सहकार्य मौखिकरुपमा गर्ने र व्यवहारमा उल्टो गर्ने काम भयो भने जुन सुधार, प्रगति र शिथिलता चिरेर अर्थतन्त्रले लय पक्रदै थियो, त्यो लय भंग हुने खतरा मैले देखेको छु ।’
‘गठबन्धन परिवर्तन गर्नुभएका प्रधानमन्त्रीज्यूले यी सबै प्रगति र उपलब्धी मेरो नेतृत्वमा भयो भन्नुभयो । तर, त्यो उपलब्धिबाट म खुशी हुन सकिन । त्यत्ति उपलब्धीबाट मलाई चित्त बुझेन त्यसकारण गठबन्धन परिवर्तन गरेको हुँ भन्नुभएको छ’ डा.महतले भने, ‘जुन लय र शैली अहिले प्रकट भइरहेको छ, धेरै मेहनत र अनुशासनमा रहेर आफू पनि उदाहरण बनेर जुन काम हामीले प्रारम्भ गरेका थियौं, यो कामलाई निरन्तरता दिन चुनौतिपूर्ण हुने देखिएको छ । दुई महिना अघि १० प्रतिशतले वृद्धि भइरहेको राजश्व ७ प्रतिशतमा झरिसक्यो ।’













