१५ श्रावण २०८३, शुक्रबार

‘सरकारले नै नागरिक र सम्पत्तिको बीमा गर्ने कार्यक्रम ल्याउन आवश्यक छ’



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र पहुँच वृद्धिका लागि संचार माध्यमहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्राधिकरणको आयोजित बीरगञ्जमा मधेश प्रदेशका विभिन्न जिल्लामा कार्यरत संचारकर्मीहरूसँग भएको बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा रहेको बीमा क्षेत्रलाई समेत प्राथमिकता दिन संचारकर्मीहरूसँग आग्रह गरे । ‘बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सकिन्छ, सरकारले चन्दा र राहतको व्यवस्था गर्नुभन्दा नागरिकको जीवन र सम्पत्तिको बीमा गर्ने कार्यक्रम ल्याउनु आवश्यक छ’, उनले भने,‘बीमा गरेपछि बीमा कम्पनीले नै क्षतिपूर्ति प्रदान गर्छन्, बीमाबाटै गरीब तथा विपन्न बर्गको जीवनस्तर उकास्न सकिन्छ, बीमाका बारेमा बुझाउन र पहुँच बढाउन संचार माध्यमहरूको महत्वपूर्ण भूमिका हुन्छ ।’

अध्यक्ष सिलवालले संचार माध्यममा आउने बीमा सम्बन्धी समाचारहरूबाट बीमा सम्बन्धी नीति, रणनीति बनाउन सहयोग पुग्ने उल्लेख गरे । संचारकर्मीहरूका लागि बीमा सम्बन्धी तालिम, अन्तक्र्रिया लगायतका कार्यक्रम संचालन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने जानकारी दिए ।

सोही अवसरमा बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले प्राधिकरणका काम, कारवाही र नियामकीय भूमिका, बीमाको पहुँच, बीमा बजारको अवस्था, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र बीमा क्षेत्रको विकास तथा पहुँच वृद्धिमा संचार माध्यमको भूमिका सम्बन्धी प्रस्तुती गरेका थिए ।

कार्यक्रममा संचारकर्मीहरूले बीमा प्राधिकरणले संचारकर्मीहरूका लागि नियमितरूपमा तालिम तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नुपर्ने बताएका थिए ।

बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि संचारकर्मीहरूसँग समन्वय गरी अगाडि बढ्नुपर्ने, बीमा सम्बन्धी ठगी र बद्मासी नियन्त्रण गर्न प्राधिकरणले नियमन र अनुगमनमा कडाई गर्नुपर्ने बताएका थिए । उनीहरुले भोजपुरी र मैथिली भाषामा समेत बीमा सम्बन्धी प्रचार प्रसार गर्नुपर्ने लगायतका धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, जिल्ला शाखाका पदाधिकारीहरू, बारा, पर्सा र रौतहत जिल्लाका विभिन्न संचार माध्यमका संचारकर्मी र ती जिल्ला कार्यक्षेत्र रहेका संचारकर्मीहरूको सहभागिता रहेको थियो ।