मर्जरपश्चात् ‘सुपर ग्रोथ’मा सिद्धार्थ प्रिमियर
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आइतबार आफ्नो ३१ औँ वार्षिक उत्सव मनाएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इस्योरेन्स मर्ज भएर २०७९ फागुन १७ बाट एकीकृत कारोबार थालेका थिए ।
उनीहरुको मर्जरपछिको पहिलो आर्थिक वर्षको आँकडाहरुले कम्पनीको ‘सिंक्रोनाइजेशन’ निकै राम्रो भएको देखाएको छ । कतिपय सूचकहरुमा सिद्धार्थ अगाडी भए पनि १ बराबर १ (१ः१) अनुपातमा मर्जर गरेका यी दुई कम्पनी एक भएपछि पनि निकै राम्रो व्यावसायिक प्रदर्शन गरिरहेको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक प्रतिवेदनले पनि सर्वाधिक नाफा कमाउने निर्जीवन बीमा कम्पनीहरुको सूचीमा यसको स्थान तेस्रो रहेको छ । नेपाल इन्स्योरेन्स र हिमालयन एभरेस्टभन्दा पछाडी सिद्धार्थ प्रिमियर नै छ । उसले गत साउनदेखि चैतको बीचमा ५९ करोड ७१ लाख खुद नाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।
गत सालको तुलनामा हेर्ने हो भने कम्पनीको नाफा दोब्बरभन्दा पनि धेरै बढेको छ । यो तीन त्रैमासको नाफा गत सालको सोही अवधिको तुलनामा ११० प्रतिशतको बढोत्तरी हो । गत साल यही समयमा २८ करोड ४८ लाख नाफा आर्जन भएको थियो ।
विगत केही समय नेपाली बैंकहरुमा मुद्दति निक्षेपको ब्याजदर निकै उच्च भएपछि कम्पनीको नाफामा पनि ब्यापक सुधार भएको हो । कुल २ अर्ब ८० करोड ६५ लाख ५० हजार सेयर पूँजी भएको यो कम्पनीले प्रतिसेयर आम्दानी गत सालको १९ रुपैयाँबाट बढाएर गत चैत मसान्तसम्म २८ रुपैयाँ ३७ पैसा पुर्याएको छ ।
कम्पनीले अघिल्लो वर्षको तीन त्रैमासमा आर्जन गरेको जम्मा खुद प्रिमियम बराबरको रकम यो साल एकै त्रैमासमा जम्मा भएको छ । गत साल चैतसम्म जम्मा ५५ करोड ७० लाख खुद प्रिमियम संकलन भएकोमा यो साल दोब्बरभन्दा धेरै भएर १ अर्ब ३३ करोड हाराहारी पुगेको छ ।
कम्पनीले सरकारलाई तिर्ने आय कर पनि पोहोरभन्दा दोब्बर बढेको छ । गत साल चैतसम्म कम्पनीले सरकारलाई ११ करोड ७५ लाख आयकर तिरेको थियो । यो साल चैतसम्म २५ करोड ५९ लाख कर तिरेको छ । यसरी कम्पनीको व्यवसायमा आएको उछालले सरकारलाई पनि उल्लेख्य फाइदा पुगेको छ ।
कम्पनीमा गत सालसम्म १ लाख ३८ हजार बीमालेख जारी भएकोमा यो चैत मसान्तसम्म आउँदा २ लाख ३२ हजार पुगेको छ । गत साल चैतसम्म ४२ हजार बीमालेख नविकरण भएकोमा यो साल झण्डै ६० हजार बीमालेख नविकरण भएका छन् ।
कम्पनीको कुल बीमाङ्क रकम पनि गत सालको १ अर्ब ७२ करोडबाट बढेर २ अर्ब ८९ करोड पुगेको छ । बीमा गर्नेको संख्या र बीमाङ्कमात्रै होइन, कम्पनीमा दाबी पनि बढेको देखिन्छ । गत साल चैतसम्म ५ हजार ६८२ दाबी परेकोमा यो साल सोही अवधिमा ९ हजार ८७४ दाबी परेको छ । तर कम्पनीले दाबी भुक्तानीलाई भने यो साल बढी प्राथमिकता दिएको देखिन्छ ।
गत वर्ष यही समयमा १४ हजार ३३१ वटा दाबी भुक्तानी हुनबाँकी रहेको थियो । तर यो साल दाबीको संख्या दोब्बर भए पनि भुक्तानी हुन बाँकी दाबीको संख्यो पोहोरभन्दा घटेको छ । गत चैतसम्म जम्मा १३ हजार २८० दाबीहरु भुक्तानी हुन बाँकी अवस्थामा रहेको कम्पनीको वित्तीय विवरणमा देखिन्छ ।
कम्पनीले आफ्नो ठूलो कोषलाई दीर्घकालिन लगानीमा बढी केन्द्रित गरेको देखिन्छ । गतसाल ६ अर्ब २३ करोड रुपैयाँ अल्पकालिन लगानीमा लगाएको कम्पनीले यो साल पनि उक्त लगानीको दायरा त्यतिमै सीमित गरेको छ । तर दीर्घकालिन लगानी भने पोहोर १ अर्ब ७ करोड रहेकोमा यो साल २ अर्ब ३३ करोड पुर्याएको छ ।
यी तथ्यांकहरुले कम्पनीको व्यावसायिक वातावरण सुध्रिएको मात्रै होइन, कम्पनीको रणनीतिक वित्तीय व्यवस्थापनमा पनि उल्लेख्य प्रगति हासिल भएको देखिन्छ ।













