८ श्रावण २०८३, शुक्रबार

बढ्यो जीवन बीमा कम्पनीको नाफा: नेपाल लाइफलाई एशियनले उछिन्यो, वृद्धिदरमा को-को छन् तगडा ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले खुद नाफा ४३ प्रतिशत बढाएका छन् । ९ महिनामा कम्पनीहरुले झन्डै ५ अर्ब रुपैयाँ नाफा कमाएका हुन् ।

कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीहरुले ३ अर्ब ४३ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीहरुको नाफा ४३.२० प्रतिशत बढेर ४ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ कायम भएको छ ।

गत वर्षको तुलनामा हिमालयन लाइफको मात्रै नाफा ७.९८ प्रतिशत घटेको छ । यी बाहेकका सबै कम्पनीहरुको नाफा बढेको छ । नाफामा एशियन लाइफ इन्स्योरेन्सले टपेको छ । समिक्षा अवधिमा सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा एशियन लाइफ छ । कम्पनीले ९ महिनामा ६९ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा वृद्धिदरमा पनि एशियन लाइफ नै पहिलो सूचीमा छ । कम्पनीको नाफा गत वर्षको तेस्रो त्रैमासको तुलनामा २५४.९१ प्रतिशत बढेको हो ।

सर्वाधिक नाफा कमाउनेको दोस्रो सूचीमा भने नेपाल लाइफ छ । कम्पनीले ६० करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २२.२१ प्रतिशत बढी हो ।

धेरै नाफा कमाउनेको तेस्रो सूचीमा रहेको सन नेपाल लाइफको पनि ११.०५ प्रतिशत बढेरर ४९ करोड ३६ लाख रुपैयाँ कायम भएको छ । यता, हिमालयन लाइफले भने ४३ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ। सबैभन्दा कम नाफा कमाए पनि वृद्धिदरको आधारमा दोस्रो स्थानमा भने राष्ट्रिय जीवन बीमा कम्पनी छ । कम्पनीको नाफा ९३.७ प्रतिशत बढेर २ करोड ४५ लाख रुपैयाँ कायम भएको छ ।

नाफा वृद्धिदरको आधार सानिमा रिलायन्स, सिटिजन लाइफ, आइएमई लाइफ र एलआइसी नेपाल पनि शीर्ष सूचीमा छन् ।समिक्षा अवधिमा सानिमा रिलायन्स लाइफको नाफा ९२.९३ प्रतिशत बढेर ३० करोड ४८ लाख रुपैयाँ, सिटिजनको ८७.३५ प्रतिशत बढेर २८ करोड १३ लाख, आइएमई लाइफको ७५.७८ प्रतिशत बढेर ३३ करोड १५ लाख र एलआइसी नेपालको ७५.२६ प्रतिशत बढेर १९ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफको नाफा ३८.७४ प्रतिशत, सूर्यज्योतिको ३३.८९ प्रतिशत, नेशनल लाइफको ३०.२९ प्रतिशत, मेट लाइफको २६.७ प्रतिशत, रिलायवल नेपालको ११.०५ प्रतिशत बढेको छ ।

कसले कति कमाए नाफा ?


प्रतिक्रिया दिनुहोस्