९ श्रावण २०८३, शनिबार

म्यानले आयोजना गर्ने सीईओ सम्मेलन जेठ १८ मा, कति लाग्छ खर्च ?



काठमाडौँ । पछिल्लो समय डिजिटाइजेशनले संसारको परिदृश्य नै बदलिरहेको छ । एउटा खाकामा दशकौँसम्म चलेका पद्दतिहरु अब तीव्र रफ्तारमा बदलिन थालेका छन् । मानिसहरुको काम गर्ने शैलीमात्रै होइन, काम नै परिवर्तन भएको छ । यस्तो बेला नेपालका व्यवस्थापकहरुले भविष्यमा कस्तो रणनीति अपनाउने भनेर पढाउन व्यवस्थापन संघले ‘सीईओ कन्फरेन्स’ आयोजना गर्ने भएको छ ।

सरकारी र निजी दुबै क्षेत्रका व्यवस्थापकहरु सम्बद्ध उक्त संस्थाले यही जेठ १८ गते शुक्रवार काठमाडौँको सोल्टी होटलमा सम्मेलन आयोजना गर्न लागेको हो । उक्त सम्मेलनमाअन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रस्तुत हुने नेपाल व्यवस्थापन संघ (म्यान)ले जनाएको छ ।

कोभिड–१९ महामारी, अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको सन्दर्भमा यस सम्मेलनले वैश्विक मुद्दाहरू सम्बोधनका लागि नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलहरूको आदानप्रदान र सहकार्यका लागि मञ्च प्रदान गर्ने आयोजकको अपेक्षा छ ।

म्यानले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरेर भनेको छ, ‘अर्थतन्त्रका मुद्दाहरू, सामाजिक सुरक्षा तथा जीवनपर्यन्त सिकाइलाई सम्बोधन गरी सरकारहरूले समाजलाई लाभान्बित गर्ने कामका नयाँ प्रवृत्तिहरूलाई सुनिश्चितता प्रदान गर्नुपर्छ । कार्यस्थलको रूपान्तरणसँगै संस्थाहरू, कर्मचारीहरू र सरकारहरूबीच सहकार्य अत्यावश्यक हुन्छ । सञ्चार, सहकार्य, कर्मचारीको भलाई, विविधता, समावेशीता र सिकाइको निरन्तरताको प्राथमिकीकरण यी परिवर्तनलाई सफलतापूर्वक अगाडि बढाउन महत्वपूर्ण हुन्छ ।’

यी परिवर्तनहरूलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ भन्ने दृष्टिकोणसहित सम्मेलन आयोजना गर्न लागिएको संघका अध्यक्ष मोहनराज ओझाले बताए। सम्मेलनको शीर्षक ‘कामको भविष्यः परिवर्तित परिदृश्य आत्मसात’ रहेको छ । सम्मेलनको मुख्य उद्देश्य सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित गराउने र परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न अन्वेषण गर्न सहयोग गर्नु रहेको छ ।

सम्मेलनमा चार विषयगत सत्रहरू सञ्चालन हुनेछन् । पहिलो सत्र सम्मेलनको मुख्य विषवस्तुमा आधारित छ भने दोस्रो सत्रमा ‘सफलताका कथाः शून्यदेखि आकाशसम्म’, तेस्रो सत्र ‘अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट विश्वमा सफलता हासिल गर्ने रणनीति’मा आधारित छ । अन्तिम सत्र ‘डिजिटल रूपान्तरण’सम्बन्धी रहेका छन् ।

कार्यक्रमका मुख्य वक्ताहरू स्ट्राटेजाका संस्थापक एवं ग्लोबल म्यानेजिङ पार्टनर इयान पालिस्टर, इन्भेष्ट इन्डियाका सीईओ दिपक बागला, एमटुपी फिनटेकका प्रमुख सञ्चालन अधिकृत प्रभु रंगराजन र फ्युज मेसिनका संस्थापक डा. समीर मास्के हुने छन् । अन्य २ जना स्रोतव्यक्ति तय गर्ने कोसिस भइरहेको म्यानले जनाएको छ ।

उक्त सम्मेलनमा नेपालका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरु, विभिन्न कर्पोरेट संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतहरु सहभागि हुने छन् । आयोजकले करीब १५० जनाको सहभागिता हुने अनुमान गरेको छ । उक्त सम्मेलनमा भाग लिन सहभागिले भ्याटबाहेक ३५००० रुपैइाँ शुल्क तिर्नुपर्ने छ । सम्मेलनको खर्च करीब ५४ लाख अनुमान गरिएको अध्यक्ष ओझाले पत्रकार सम्मेलनमा जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्