१३ श्रावण २०८३, बुधबार

बजेटमा भनिएका नयाँ र सुधारात्मक कानुनहरु चाँडो ल्याउनुपर्छः सिएनआई अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योग, व्यवसायमैत्री कानुनहरु समयानुकुल परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन् ।

आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बजेटले नयाँ सुधारको कार्यक्रम अघि बढाउने कुरा उल्लेख गरेको बताउँदै उनले निजी क्षेत्रको मनोवल बढाउने, पर्यटन उद्यमशिलता बढाउनेलगायतका क्रियाकलापहरु बजेटका समेटिएको बताए । उनले विभिन्न ऐन तथा नियमावलीमा समायनुकुल परिवर्तनका कुरालाई बजेटले समेटेकाले यसको स्वागत गरिएकोसमेत बताए । ‘बजेटमा भनिएका नयाँ र सुधारात्मक कानुनहरु चाँडो ल्याउनुपर्दछ,’ उनले भने, ‘सूचना प्रविधिलाई जोड दिएर गरिएको घोषणाका कारण हामी उत्साहित छौं ।’

निजी क्षेत्रका लागि सरकारको प्राथमिकता के हो अझै नबुझिएको उनले बताए । पछिल्ले समय उद्योगीको मनोबल गिरेको बताउँदै उनले बजारमा मन्दी छाएको र यहि बेलामा सरकारले बजेटमार्फत केहि वस्तुको कर बढाईदिँदा झन समस्या थपिएको बताए । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनेगरी बेलैमा नसोचे बजेटमा घोषणा गरिएअनुरुपको आर्थिक वृद्धिदर हासिल गर्न अप्ठ्यारो हुने उनको भनाई छ ।