८ श्रावण २०८३, शुक्रबार

नयाँ व्यवसाय भित्र्याउन नेशनल र नेपाल लाइफ तगडा, आधा दर्जन कम्पनीको भने घट्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार अर्थात् प्रथम बीमा शुल्क आर्जन वृद्धि भएको छ । पछिल्लो समय कम्पनीहरुको नयाँ व्यवसायमा सुधार आएको देखिन्छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको १० महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

१० महिनामा कम्पनीहरुले कुल २४ अर्ब २३ करोड ३६ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् । जुन गत आवको बैशाख मसान्तसम्मको तुलनामा ३.८८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीहरुले २३ अर्ब ३२ करोड ७८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

१० महिनामा कम्पनीहरुले कुल १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ व्यापार गरेका छन् । यसमा पुरानो व्यवसाय अर्थात् नविकरण मार्फत संकलन हुने बीमा शुल्क भने ८० प्रतिशत छ । समिक्षा अवधिमा कम्पनीहरुले नविकरण मार्फत ९७ अर्ब १२ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कुल व्यवसायमा नयाँ व्यापारको हिस्सा १९.९६ प्रतिशत मात्रै छ । बैशाख महिनामा मात्रै कम्पनीहरुले कुल २ अर्ब ७७ करोड ८ लाख रुपैयाँको नयाँ बिजनेस भित्र्याएका छन् । आर्थिक शिथिलताका कारण लामो समयदेखि नयाँसहित समग्र बीमा व्यवसाय नै सुस्ताएको थियो । तर, पछिल्लो समय आर्थिक गतिविधि बढ्न थालेसँगै बीमा व्यवसायमा पनि सुधारको संकेत देखिन थालेको छ ।

नयाँ व्यवसाय भित्र्याउन नेशनल र नेपाल लाइफ अगाडि, ७ वटाको घट्यो

नयाँ व्यवसाय भित्र्याउन नेशनल लाइफ अगाडि देखिएको छ । वृद्धिदरको आधारमा यी दुई कम्पनी शीर्ष सूचीमा छन्। समिक्षा अवधिमा नेशनल लाइफको प्रथम बीमा शुल्क आर्जन २९.१४ प्रतिशत बढेर ३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ कायम भएको छ । यता, नेपाल लाइफको पनि २०.६७ प्रतिशत बढेर ५ अर्ब ४३ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, एशियन लाइफले पनि १६.७८ प्रतिशत, आइएमई लाइफले ११.४६ प्रतिशत, मेट लाइफले ५.८१ प्रतिशत, सिटिजन लाइफले २.०१ प्रतिशत र सानिमा रिलायन्सले ०.५५ प्रतिशत बढाएका छन । यी मध्ये अन्य ७ वटा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन भने घटेको छ ।

सबैभन्दा धेरै राष्ट्रिय जीवन बीमा कम्पनीको घटेको देखिन्छ । समिक्षा अवधिमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन गत वर्षको तुलनामा ४४.२७ प्रतिशत घटेको हो । यता, सन नेपाल लाइफको २०.४१ प्रतिशत, प्रभु महालक्ष्मीको १६.७१ प्रतिशत, सूर्यज्योति लाइफको २३.६५ प्रतिशत, एलआइसी नेपालको ६.६ प्रतिशत , हिमालयन लाइफको २.४५ प्रतिशत र रिलायवल नेपाल लाइफको ०.५५ प्रतिशत घटेको छ ।

कुनको कति ?


प्रतिक्रिया दिनुहोस्