९ श्रावण २०८३, शनिबार

भुक्तानी प्रणालीमा पहिलो मर्जर, एक दशकको उकाली ओरालीसँगै एनसीएचएलमा विलिन भयो नेप्स



काठमाडौं । सोमबारदेखि एक दशक लामो यात्रा पार गरेको नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम (नेप्स) नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल)मा समाहित भएको छ ।

१५ वर्ष बढीको इतिहास बोकेको एनसीएचएलले नेप्सलाई प्राप्तिपछि औपचारिक रुपमा सोमबारदेखि एकीकृत कारोबार थालनी गरेका छन् । यी दुई कम्पनी १ः०.२८ प्रतिशत सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) अर्थात् नेप्समा १०० कित्ता सेयर बराबर एनचीएचएलको २८ कित्ता सेयर कायम हुनेगरि एकीकृत कारोबार सुरुवात गरेका हुन् । यो नै भुक्तानी प्रणालीबीचको पहिलो र सफल मर्जर हो । राष्ट्र बैंकले भुक्तानी फस्र्यौट विनियमावली २०७७ को पहिलो संशोधनमा भुक्तानी सेवा प्रदायक कम्पनीलाई मर्जर तथा प्राप्तिमा लैजाने व्यवस्था गरेको थियो ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिप प्रज्वलन गरि एनसीएचएल र नेप्सेको औपचारिक कारोबारको सुभारम्भ गरेका हुन् । नेप्सेलाई प्राप्तिपछि एनसीएचएलको चुक्तापुँजी १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ४३ करोड भएको छ ।

दुई कम्पनीबीच गत चैत २२ गते मर्जरमा जाने अन्तिम सम्झौता भएको थियो । वैशाख १३ गते दुवै संस्थाको विशेष साधारणसभाबाट प्रस्ताव पारित भएसँगै एकीकृत कारोबारको मिति तय गरेका थिए । राष्ट्र बैंकले गत जेठ २ गते र कम्पनीको रजिष्ट्रारको कार्यालयले जेठ १३ गते स्वीकृती दिएको थियो।

यी दुवै बैंक तथा वित्तीय संस्थाले प्रवद्र्धन गरिरहेका संस्था हुन् । दुबै कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा काम गर्दै आइरहेका थिए । एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिँदै आएको छ भने नेप्सले हालसम्म विभिन्न कार्ड स्किमको लागि कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थाहरुलाई सेवा दिदै आएको छ ।

एनसीएचएल र नेप्सेबीच भुक्तानी प्रणाली संचालकहरुको पहिलो सफल मर्जर रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘राष्ट्र बैंकको नीति अनुसार थुप्रै बैंक तथा वित्तीय संस्थाहरु मर्ज भएका छन् । तर, पेमेन्ट सिस्टम तर्फको यो पहिलो महत्वपूर्ण मर्जर हो । यसले हामीलाई निकै उत्साहित बनाएको छ’, गभर्नर अधिकारीले भने ।

उनले सिनर्जी ल्याउनका लागि मर्जर भएको बताए । भुक्तानी प्रणालीमा स्वस्थ प्रतिस्पर्धासहित गुणस्तरी सेवा प्रवाहमा ठुलो भूमिका खेल्ने अधिकारीको भनाई छ । उनले भने,‘स्वस्थ्य प्रतिस्पर्धाका लािग पनि इन्फ्रास्ट्रक्चरमा पनि अनावश्यक राष्ट्रिय स्रोत साधान छर्नबाट लगाउनका लागि पनि एक्विजीशन गर्नुपर्ने हुन्छ, यस्तैैै कुराबाट पनि राष्ट्र बैंकले मर्जरको नीति लिएको हो । यो मर्जरका लागि मात्र मर्जर नभई सिनर्जी ल्यानका लागि पनि हो ।’

हाल नेपालमा १० वटा भुक्तानी प्रणाली संचालक र २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरु छन् । सोही अवसरमा एनसीएचएलका अध्यक्ष रामु पौडेलले मर्जपछि भुक्तानी प्रणालीलाई छिटो र सरल बनाउने प्रतिवद्धता व्यक्त गरे । नेपालमा भुक्तानी प्रणालीको पहिलो मर्जर भएकाले यसको गुणस्तरीय सेवा प्रवाहमा थप प्रवद्र्धन गरिने उनले बताए । अध्यक्ष पौडेलले भने,‘नेप्सलाई प्राप्तिपछि एनसीएचएलको चुक्ता पुँजी वृद्धि भएको छ । सेवा विस्तार र पहुँच पनि अब वृद्धि हुनेछ । हामीले राष्ट्र बैंकको मर्जर नीतिलाई सहयोग गरेका छौं । यो भुक्तानी प्रणालीको पहिलो सफल मर्जर हो ।’

उनले सीमापार वित्तीय भुक्तानी कारोबार छिट्टै भारतबाट सुरु हुने जानकारी गराए । यसका साथै अन्य देशहरुबाट पनि कारोबार संचालनको तयारी रहेको पौडेलको भनाई छ । उनले दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक बनाउने बताए । ‘राष्ट्रिय र अन्तराष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न उल्लेखिय भूमिका खेल्नेछ । प्राप्तिपछि कम्पनीको पूँजी वृद्धि भएको छ । यसले पहुँच पनि बढाउँछ, अनुभव र क्षमताको आधारमा अब्बल संस्था बन्ने छ । यसका साथै सरकार र राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत उल्लेखिय सहयोग हुनेछ ।’

कम्पनीको चुक्ता पुँजी र जगेडा कोषको बढोत्तरीले संस्थालाई पूर्वाधार सुधार गर्न, जोखिम र सुरक्षाका नियन्त्रण प्रणाली सुधार गर्न र नविनतम अनुसन्धानमा लगानी बढाउन टेवा पुग्ने अध्यक्ष पौडेलको भनाई छ । यसका साथै सेवाको गुणस्तर बढाउन महत्वपूर्ण योगदान हुने बताए । नेप्सेका पूर्वअध्यक्ष विशम्भर न्यौपानेले पनि मर्जर नयाँ सिनर्जी ल्याउने बताए । नेपालको डिजीटाइजेन यात्रामा यो मर्जरले पनि अहम र परिवर्तनकारी भूमिका खेल्ने उनको भनाई छ । उनले भने,‘मर्जर सिनर्जी ल्याउने नै छ । डिजीटल पेमेन्ट सर्भिसेसमा अझै प्रभावकारी भूमिका प्रवाह गर्नेछ ।’

डिजीटल भुक्तानीमा नेप्सले पुर्याएको योगदान राखेको उद्देश्यलाई अब एनसीएचएल मार्फत पुरा गर्ने उनको भनाई थियो । नेप्सले विभिन्न उतारचढावका बावजुद पनि वार्षिक २०÷२५ प्रतिशत प्रतिफल दिन सक्ने सामार्थ्य बनाएको न्यौपानेले स्मरण समेत गराएका थिए । यता, संचालक रहेका मर्जर कमिटीका संयोजक मनोज शर्मा ढकालले पनि भुक्तानी प्रणालीको पहिलो सफल मर्जर कार्यान्वयन भएको बताए । मर्जर विद्युतीय भुक्तानीको पूर्वाधार र समग्र प्रणाली अझ प्रतिस्पर्धात्मक, व्यवस्थित र प्रभावकारी बन्ने बताए ।

कार्यक्रममा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निलेश मानसिंह प्रधानले नेपालको भुक्तानीको क्षेत्रमा दुरगामी सकरात्मक प्रभाव पार्ने बताए । हालसम्म गरेका वा उपलब्धी प्राप्त गरेका कार्यहरुको श्रेय संचालन, व्यवसायी, प्राविधि लगायतको क्षेत्रमा सबैभन्दा ठुलो भुमिका कर्मचारीको रहेको बताए । दुवै संस्थाको कर्मचारीहरुको सकरात्मक सहयोगले नै एनसीएचएलले ऐतिहासिक वृहत उपलब्धि हासिल गरेको बताए । आजैबाट हाम्रो व्यवसाय अवसरसँगै नेशनल पेमेन्ट स्वीच र नेपाल पे कार्डको पूर्ण कार्यान्वयनको अपेक्षा र जिम्मेवारी थपिएको बताए ।

सोही अवसरमा नेप्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जिव सुब्बाले पनि मर्जरले निकै उत्साहित बनाएको बताए । दुवै संस्थाले भुक्तानी प्रणाली क्षेत्रमा उल्लेख्य कामहरु गर्दै आएको बताए । ‘राष्ट्र बैंकको नीतिलाई सहयोग हुने गरि मर्जरमा गएका छौं । यो मर्जर एक प्लस एक होइन, यो यो ११ हो । अब संस्थाले नयाँ उचाई लिने छ’, उनले भने । यता, नेपाल बैंकर संघ अध्यक्षले पनि भुक्तानी प्रणालीका लागि यो मर्जर ऐतिहासिक भएको बताए ।यो आफैमा ठुलो उपलब्धि हो । अगामी दिनमा नेपालको डिजीटल यात्राका लागि विशेष प्रकारको भूमिका खेल्ने उनले बताए ।

प्राप्तिपछि कम्पनीको एकीकृत कारोबार संख्या १३ करोड रहेको छ भने कुल कारोबार ११२ खर्ब भन्दा बढी रहेको छ । प्राप्तिपछि संस्थामा १३२ जना कर्मचारी हुनेछन् । यसको प्रडक्ट ९ वटा पुगेको छ । सदस्य बैंक तथा वित्तीय संस्था ५३ वटा, अन्य सदस्य १ सय भन्दा माथि पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्