८ श्रावण २०८३, शुक्रबार

जीवन बीमा व्यवसाय: सावधिक बीमा योजनाले ओगट्यो ३९.१२% हिस्सा, आधा व्यापार बागमतीमै सिमित



काठमाडौं । जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा सर्वाधिक छ । बीमा शुल्क संकलनको आधारमा सावधिक बीमा योजनाको हिस्सा धेरै देखिएको हो । कुल व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ३९.२८ प्रतिशत छ ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको १० महिनासम्म (बैशाखसम्म) को तथ्याङ्कले यस्तो देखाएको हो ।
१० महिनामा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिमा कम्पनीहरुले १ करोड ४१ लाख ९४ हजार ४९० वटा बीमालेख बिक्री गरेका छन् । यसरी कुल व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ठुलो छ । समिक्षा अवधिमा उक्त बीमा योजना अन्तर्गत कुल ४७ अर्ब ७० करोड ८३ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । बैशाखसम्म १ लाख ७६ हजार ३२७ वटा सावधिक जीवन बीमालेख बिक्री भएको छ ।

कुल व्यवसायमा दोस्रो ठुलो हिस्सा अग्रिम भुक्तानी सावधिक बीमाको छ । यस्तो बीमाको हिस्सा २२.५५ प्रतिशत छ । समिक्षा अवधिमा ११ लाख २८ हजार ५९९ वटा अग्रिम भुक्तानी बीमालेख बिक्री भएको छ।

यस्तै, बालबच्चा सम्बन्धि सावधिक बीमाको हिस्सा १५.३६ प्रतिशत, रुपान्तरिक सावधिक बीमाको १३.३३ प्रतिशत रहेको छ । १० महिनामा यी दुई बीमा मार्फत क्रमशः १८ अर्ब ६५ करोड ४८ लाख र १६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बालबच्चा सम्वन्धि ९ लाख ७७ हजार ५८ हजार र रुपान्तरिक सावधिक बीमालेख ५ लाख ३२ हजार ७२६ वटा बिक्री भएका छन् ।

यस्तै, आजिवन जीवन बीमाको हिस्सा २.८३ प्रतिशत, वैदेशिक रोजगारको २.१२, लघुबीमाको १.९२, एकल बीमा शुल्क जीवन बीमाको १.५६ र म्यादी जीवन बीमाको १.०५ प्रतिशत रहेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण, रकम लाखमा

जीवन बीमा व्यवसायमा बागमतीले ओगट्यो आधा हिस्सा

जीवन बीमा व्यवसाय बागमती प्रदेशमा केन्द्रित छ । कुल व्यवसायमा बागमती प्रदेशको हिस्सा ४४.२१ प्रतिशत छ । चालु आवको १० महिनामा बागमती प्रदेशबाट ५३ अर्ब ६९ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सो अवधिमा कम्पनीहरुले ९५ लाख ६३ हजार ७६२ वटा बीमालेख बिक्री गरेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशबाट पनि ९ लाख ८० हजार ११ वटा बीमालेख बिक्री गरि कुल १९ अर्ब १२ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । कुल व्यवसायमा लुम्बिनीको हिस्सा १५.७४ प्रतिशत छ ।

यस्तै, कोशी प्रदेशको हिस्सा १२.१० प्रतिशत, गण्डकीको १०.२२ प्रतिशत, मधेशको ८.९९ प्रतिशत, सुदुरपश्चिमको ६.०२ प्रतिशत र कर्णालीको २.७२ प्रतिशत छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण, रकम लाखमा


प्रतिक्रिया दिनुहोस्