८ श्रावण २०८३, शुक्रबार

जीवन बीमा व्यापारमा ९ अर्बको बढोत्तरी: नेपाल लाइफकै हिस्सा ठुलो, नेशनल र एलआइसीबीच प्रतिस्पर्धा



काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यापार एक वर्षमै ९ अर्ब २१ करोड रुपैयाँले बढेको छ ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि जेठसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड ८६ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो ठुला तथा लघुबीमा कम्पनीहरुको कुल व्यवसाय हो । जुन गत आवको सोही अवधिको तुलनामा ७.४० प्रतिशत बढी हो ।

समिक्षा अवधिमा १४ वटा कम्पनीहरुले नविकरण मार्फत १ खर्ब ६ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क र नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन २७ अर्ब ५६ करोड ७८ लाख ६२ हजार रुपैयाँ छ । समिक्षा अवधिमा कुल सक्रिय बीमालेखको संख्या १ करोड ४० लाख १२ हजार ३०२ वटा छ । यता, समिक्षा अवधिमा तीन लघु जीवन बीमा कम्पनीहरुले भने १३ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

ठुला जीवन बीमा व्यवसायमा नेपाल लाइफको वर्चश्व कायमै देखिएको छ । कुल व्यवसायमा कम्पनीको २६.६१ प्रतिशत हिस्सा छ । ११ महिनामा ३५ अर्ब ५६ करोड ३६ लाख ३९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले नविकरणमार्फत २९ अर्ब ३० करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यस्तै, ६ अर्ब २५ करोड ३७ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ । हाल कम्पनीमा १३ लाख ९८ हजार ९१२ वटा बीमालेख सक्रिय छन् ।

व्यवसायको आधारमा (बीमाशुल्क संकलन) नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) बीच प्रतिस्पर्धा देखिएको छ। समिक्षा अवधिमा नेशनल लाइफले १५ अर्ब ९८ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, एलआइसी नेपालले पनि १५ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सर्वाधिक व्यापार गर्नेको चौंथो सूचीमा भने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी छ । समिक्षा अवधिमा हिमालयनले कुल १४ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

पाँचौं स्थानमा रहेको सूर्यज्योति लाइफ ८ अर्ब ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै, एशियन लाइफले ७ अर्ब २ करोड ६२ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ९५ करोड ६४ लाख, सानिमा रिलायन्सले ५ अर्ब ३२ करोड ७७ लाख, सिटिजन ५ अर्ब २९ करोड १२ लाख रुपैयाँ र मेट लाइफले ५ अर्ब ८ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, आइएमई लाइफले ४ अर्ब ४ करोड ७८ लाख, प्रभु महालक्ष्मीले ३ अर्ब ७१ करोड ८९ लाख, रिलायवल नेपालले ३ अर्ब ६९ करोड ४१ लाख, सन नेपाल लाइफले ३ अर्ब ३९ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

लघुबीमा कम्पनीको व्यापार कस्तो ?

समिक्षा अवधिमा तीन लघुबीमा कम्पनी कुल १३ करोड २७ लाख ९९ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् । ती कम्पनीहरुले १२ करोड २७ लाख २१ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् । नविकरण मार्फत भने ७८ हजार रुपैयाँ मात्रै (क्रेष्ट माइक्रोले) बीमा शुल्क संकलन गरेको छ ।

समिक्षा अवधिमा सबैभन्दा धेरै व्यापार क्रेष्ट माइक्रो लाइफको देखिएको छ । कम्पनीले ११ महिनामा ७ करोड ८७ लाख ७५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै, गार्डियन माइक्रोले ३ करोड २९ लाख ३४ हजार र लिवर्टी माइक्रोले २ करोड १० लाख ९० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्