१२ श्रावण २०८३, मंगलबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची



काठमाडौं । आज पनि प्रतिनिधि सभा बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ ।

बैठकमा प्रश्नोत्तर, प्रतिवेदन पेश र व्यवस्थापन कार्य लगायतको सूची छ । बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बारेमा सांसदले उठाएका मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा अर्थ मन्त्री वर्षमान पुनले “बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “लगानी सहजीकरण सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत छन् भने “लगानी सहजीकरण सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

यस्तै, मन्त्री दामोदर भण्डारीले “लगानी सहजीकरण सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने विधयेक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।