१ कार्तिक २०८३, आइतबार

आर्थिक शिथिलताले सुस्ताएको बीमा व्यापारमा क्रमिक सुधार, व्यवसाय बढाउन कस्सिए कम्पनीहरु



काठमाडौं । पछिल्लो समयमा समग्र बीमा व्यवसाय बढ्न थालेको छ । आर्थिक शिथिलताले सुस्ताएको बीमा व्यवसायमा क्रमिक सुधार हुँदै गएको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको ११ महिनामा जीवन तथा निर्जीवन (लघुबीमासहित) कम्पनीहरुले कुल १ खर्ब ७०अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा भने ५.९६ प्रतिशत अर्थात् ९ अर्ब ५८ करोड ५१ लाख रुपैयाँ बढी हो । गत आवको जेठ मसान्तसम्ममा कम्पनीहरुले १ खर्ब ६० अर्ब ७४ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

बीमा व्यवसाय बिस्तारै बढ्न थालेको तथ्याङ्कले पुष्टि हुन्छ। आर्थिक शिथिलताले सुस्ताएको बीमा व्यापार बिस्तारै सकारात्मक रूपमा बढ्न थालेको हो । आर्थिक गतिविधि बिस्तारै चलायमान हुँदै गएकाले त्यसको प्रभाव बीमा व्यवसायमा पनि देखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । गत बैशाख मसान्तसम्ममा भने कम्पनीहरुले कुल १ खर्ब ५४ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका थिए । जेठमा १५ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको व्यवसाय भित्र्याएका छन् । व्यवसाय वृद्धिदर उल्लेख्य रूपमा बढ्न नसकेपछि बिस्तारै गति लिन थालेको प्राधिकरणले जनाएको छ ।

व्यवसाय वृद्धिदरमा जीवन बीमा कम्पनी अगाडि देखिएको छ । एक वर्षको अवधिमा जीवन बीमा व्यापार ७.४० प्रतिशत वृद्धि भएको छ । गत आवको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ करोड ४० लाख ६९ हजार ९३७ वटा बीमालेख बिक्री गरि १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या १ करोड ४० लाख ८९ हजार ६२२ वटा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन पनि ६.७४ प्रतिशत वृद्धि भएको छ। ११ महिनामा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन २७ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ। गत आवको जेठ मसान्तसम्ममा भने कम्पनीहरुको यस्तो बीमा शुल्क २५ अर्ब ९५ करोड १० लाख रुपैयाँ रहेको थियो । यस्तै, पुरानो व्यवसाय अर्थात् नविकरण मार्फत संकलन हुने बीमा शुल्क पनि ७.५७ प्रतिशत वृद्धि भई १ खर्ब ६ अर्ब ५ कारेड ८० लाख रुपैयाँ कायम भएको छ। हाल ३ वटा लघुबीमा र १४ वटा ठुला जीवन बीमा कम्पनी संचालनमा छन् ।

तर, निर्जीवन बीमा व्यवसाय भने दबाबमै देखिएको छ। गत वर्षको जेठ मसान्तसम्मको तुलनामा १.०२ प्रतिशत मात्रै वृद्धि भएको छ। गत आवको सो अवधिमा कम्पनीहरुले २५ लाख ३७ हजार ४१६ वटा निर्जीवन बीमालेख बिक्री गरि ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा पनि २७ लाख १३ हजार ७१ वटा बीमालेख बिक्रीबाट कम्पनीहरुले ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा क्षेत्रमा थपिए ४७५ कर्मचारी, ८५ वटा कार्यालय विस्तार

वसायसँगै बीमा क्षेत्रले रोजगारी पनि वृद्धि गरेको छ। एक वर्षको अवधिमा ४७५ जना कर्मचारी बीमा क्षेत्रमा जोडिएका छन् ।

आर्थिक मन्दी र बीमा कम्पनीको मर्जरले केही समय अघिसम्म कर्मचारीको संख्या घट्दो क्रममा थियो । तर, पछिल्लो समय भने कम्पनीहरुको व्यापारसँगै रोजगारी पनि बढेको देखिन्छ । गत आवको जेठ मसान्तसम्ममा बीमा क्षेत्रमा ११ हजार १९९ जना कर्मचारी आवद्ध थिए । तर, यो वर्षको सोही अवधिमा भने ४.२४ प्रतिशत बढेर ११ हजार ६७४ पुगेको छ । विशेषगरि निर्जीवन बीमा कम्पनीमा कर्मचारीको संख्या बढेको देखिन्छ ।

एक वर्षमा निर्जीवन बीमा कम्पनीले ३१६ जना कर्मचारी थपेका छन् । हाल निर्जीवन बीमामा ५ हजार ८४९ जना कर्मचारी आवद्ध छन् । यता, जीवन बीमा कम्पनीमा भने ५ हजार ८२५ जना कर्मचारी छन् । समिक्षा अवधिमा १५९ जना कर्मचारी जीवन बीमा कम्पनीमा थपिएका छन् ।

हाल देशभर बीमा कम्पनीहरुको २ हजार ९७२ वटा कार्यालय छन्। जीवन बीमाको १ हजार ८३२ र निर्जीवन बीमा कम्पनीहरुको १ हजार १४० वटा कार्यालय छन् । एक वर्षको अवधिमा कम्पनीहरुले ८५ वटा कार्यालय स्थापना गरि व्यवसाय विस्तार गरेका हुन् ।