रोकिएको कृषि तथा पशु बीमाको अनुदान बक्यौता भुक्तानी हुँदै, तत्काल १ अर्ब ६८ लाख पाउँदै कम्पनी
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले लामो समयदेखि अड्कीएको कृषि तथा पशु बीमाको अनुदान बापतको बक्यौता पाउने भएका छन् । झण्डै साढे दुई अर्ब बक्यौता रहेकोमा तत्काल उनीहरुले १ अर्ब ६८ लाख रुपैयाँ पाउन लागेका हुन् ।
बाली तथा पशुधन बीमा कोषको मंगलबार बसेको बैठकले १ अर्ब ६८ लाख रुपैयाँ निर्जीवन बीमा कम्पनीहरुलाई भुक्तानी गर्ने निर्णय गरेको हो ।
हाललाई पशु बीमाको अनुदानको बक्यौता तिर्न मात्रै सो बरारबको रकम कृषि तथा पशुपंक्षी मन्त्रालयले कोषमा पठाएको थियो । गत मंगलबार साँझ बसेको कोष व्यवस्थापन समितिको बैठकले सो रकम भुक्तानी गर्ने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार सो रकम निर्जीवन बीमा कम्पनीहरुले भने एक दुई दिनमै पाउनेछन् । ‘कृषि तथा पशु बीमाको बक्यौता अनुदान सरकारले कोष व्यवस्थापन समितिमा पठाएको छ । त्यो रकम कम्पनीहरुलाई एक/दुई दिनभित्रै भुक्तानी हुनेछ’, प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी भने ।
उनका अनुसार यो पशु बीमा तर्फको भुक्तानीका लागि हो । कृषि बीमा तर्फको बक्यौता भुक्तानीका लागि भने छिट्टै आउने उनले बताए । उनले भने, ‘अहिले आएको पैसा पशुबीमाको लागि मात्रै हो । यसको अनुदानको बक्यौता पनि धेरै छ । कृषि बीमा तर्फको बक्यौताका लागि पनि छिट्टै आउनेछ ।’
यो रकमले पशु बीमा तर्फ गत आर्थिक वर्ष २०७९/८० का बाँकी बक्यौता सबै तिरीनेछ । चालु आर्थिक वर्षको भने असोजसम्मको मात्रै भुक्तानी हुनेछ । त्योअनुसार कात्तिकदेखि यताको बाँकी रहने छ । कृषि बीमा तर्फको अनुदान भने गत आर्थिक वर्षको बैशाखदेखिकै बाँकी छ ।
सरकारले कृषि तथा पशुबीमामा लाग्ने शुल्कमा ८० प्रतिशत अनुदान दिने गर्छ । त्योअनुसार कम्पनीले सम्बन्धीत किसानबाट २० प्रतिशत मात्रै शुल्क उठाउछन् । बाँकी पैसा सरकारले नै दिनुपर्ने प्रावधान छ ।
तर, अनुदान बापतको रकम प्राप्त नभएपछि निर्जीवन बीमकले कृषि बीमाको कारोबार नै बन्द गराएका थिए । गत चैत १ गतेदेखि जेठ १७ गतेसम्म कम्पनीहरुले कृषि बीमालेख बिक्री र दावी भुक्तानी दिन स्थगित गरेका थिए । चरणवद्ध रुपमा सरकारले बक्यौता तिर्ने प्रतिवद्धता गरेपछि गत जेठ १८ गतेबाट पुनः कृषि बीमालेख बिक्री सुरु भएको छ ।
मन्त्रालयले यस अन्तरगत थप ८५ करोड रुपैयाँ बीमा कम्पनीहरुलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएको छ । त्यसमा कृषि बीमातर्फ झण्डै १५ करोड रुपैयाँ र बाँकी पशुबीमाको अनुदान बक्यौताका लागि छुट्टाइएको छ । मन्त्रालयका स्रोतका अनुसार सो बराबरको रकम रकमान्तर गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको छ । अर्थ मन्त्रालयले स्वीकृत दिएपछि उक्त रकम बीमा कम्पनीहरुलाई भुक्तानी गरिनेछ । चालु आवमै भुक्तानी गर्ने मन्त्रालयको उद्देश्य छ ।













