११ श्रावण २०८३, सोमबार

दोस्रो पटक दुई तिहाईको बहुमतप्राप्त सरकारको नेतृत्व गर्दै ओली, आइतबार नियुक्ति सोमबार शपथ



काठमाडौँ । आज आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । नयाँ बन्ने सरकारको नेतृत्व अर्थात् प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारनै दाबी पेस गरेका छन् ।

शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै उनले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार सांझनै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । 

अध्यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । ओलीले संसद्को पहिलो दल काँग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा शुक्रवार राष्ट्रपति भवन शीतल निवास पुगेर उनले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

योसँगै अब राष्ट्रपति पौडेलले आज नै ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने भएका हुन् । संविधानको धारा ७६ को उपधार (२) बमोजिम ओली प्रधानमन्त्रीमा नियुक्ति गर्न नेकपा एमाले र नेपाली काँग्रेसले राष्ट्रपति पौडेललाई सांसदहरूको हस्ताक्षरसहित बुझाएका छन् ।

ओलीको नियुक्ति आज हुने र शपथ ग्रहण भने भोली सोमबार हुने बताइएको छ । ओली दोस्रो पटक दुई तिहाइको बहुमतप्राप्त सरकारको नेतृत्व गर्ने छन् । ओलीलाई काङ्ग्रेससहित अन्य सात दलले पनि समर्थन गरेका छन् ।