पूर्व अर्थमन्त्री डा. महतको प्रयासले खारेज भयो अर्बौं कर छलि गर्ने कानुन
काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रयासले आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा ५७ मा थप्न खोजिकएको प्रतिबन्धात्मक व्यवस्था रोकिएको छ।
आर्थिक विधेयकको दफा ३६ (६) मार्फत् आयकर ऐन २०५८ को दफा ५७ काे उपदफा १ मा निवर्तमान अर्थमन्त्री पुनले ‘तर साबिकका सेयरवाला तथा साझेदारको सेयर संख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुने छैन’ भनेर प्रतिबन्धात्मक वाक्य थप्न खाेजेका थिए।
तर साेमबार नवनियुक्त अर्थमन्त्री विष्णु पाैडेलले प्रतिबन्धात्मक व्यवस्थालाई परिमार्जन गरी ‘तर स्टार्टअप, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलको हकमा साबिकका सेयरवाला तथा साझेदारको सेयर संख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुने छैन’ बनाइदिएका छन् ।
साेही संशाेधित व्यवस्था सहित बजेटकाे अंशकाे रूपमा प्रस्तुत भएकाे आर्थिक विधेयक संसदका दुबै सदनबाट पारित भएकाे छ।
यसले शेयर किनबेच नगरी कम्पनीको पुँजी बढाएरै कम्पनीको स्वामित्व परिवर्तन गर्न सक्ने बाटो अब बन्द गरिदिएको छ ।
यसअघि आयकर ऐनको दफा ५७ को उपदफा १ मा थपिएको प्रतिबन्धात्क व्यवस्थाले सरकारबाट पाएको लाइसेन्सका कारण मूल्य अभिबृध्दि भएका कम्पनीकाे स्वामित्व किनबेच गर्दा कर छलि गर्ने जोखिम बढेको थियो ।
पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेठ ३० गते संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै निश्चित उद्देश्यका साथ आयकर ऐनको दफा ५७ मा संशोधन गर्न लागिएको दाबी गरेका थिए ।
अर्थपथ र अन्य केही सञ्चारमाध्यममा यसबारे विस्तृत समाचारहरू संप्रेषण भएपछि उनकाे यस्ताे धारणा आएकाे थियाे।
‘सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेको छ,’ पूर्वअर्थमन्त्री महतले भनेका थिए, ‘आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर एउटा नीहित उद्देश्यका साथ दफा ५७ अन्तर्गतमा छुट दिएका कुराहरु आइरहेका छन् ।’
त्यसअघि अर्थपथले एनसेलकाे स्वामित्व चन्द्र ढकाल वा अन्य कुनै व्यवसायीले सस्तैमा किन्न खाेजेकाे हुनसक्ने संभावना ओैंल्याउँदै समाचार प्रकाशित गरेकाे थियाे।
त्यसपछि असार ११ गतेको प्रतिनिधी सभाको बैठकमा विषेश समय लिँदै पूर्व अर्थमन्त्री महतले आयकर ऐनको दफा ५७ संशोधन गर्दा गम्भीर विचलन गरिएको बताएका थिए ।
प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि छलफल गर्दै पूर्व अर्थमन्त्री महतले एनसेललगायत सीमित कम्पनीलाई लाभ पुर्याउने गरी आयकर ऐनको दफा ५७ संशोधन गरिएको बताएका थिए ।
‘दफा ५७ मा गरिएको संशोधनले सेयर खरिद बिक्री नगरी पुँजी बढाएरै कम्पनीको स्वामित्व परिवर्तन गर्नसक्ने व्यवस्था गरेको छ,’ उनले भनेका थिए, ‘बजेट बक्तव्यमा प्रविधिसँग सम्बन्धित भनियो । तर, आर्थिक ऐनमा प्रविधिसँग सम्बन्धित उल्लेख छैन । सबैखाले कम्पनीलाई यो व्यवस्था लागू हुने भयो । यो गम्भीर विषय हो ।’
पूर्वअर्थमन्त्री महतले दफा ५७ मा गरिएको संशोधनबाट एनसेल, जलविद्युत कम्पनी र कम पुँजी भएका अन्य कम्पनीले समेत लाभ लिन सक्ने आशंका व्यक्त गरेका थिए ।
‘दफा ५७ मा गरिएको संशोधनले एनसेल होस् वा अन्य कम्पनी होस् अब शेयर किनबेच गर्न नपर्ने भयो । कम्पनीको चुक्ता पुँजी बढाउने र नयाँ सेयरहोल्डर थप गर्दै स्वामित्व परिवर्तन गर्न सकिने भयो,’ महतले भनेका थिए, ‘सेयरधनीले चाहेअनुसार स्वामित्व परिवर्तन गर्दा कुनै कर नलाग्ने भयो ।’
आर्थिक विधेयको दफा ३६ को उपदफा ६ मार्फत आयकर ऐनको दफा ५७ को उपदफा १ मा पार्न सक्ने नकारात्मक असरको विषयमा पूर्व अर्थमन्त्री महतले पार्टीको संसदीय दलको बैठकमा समेत सांसदहरुलाई जानकारी गराएका थिए ।
महतकै पहलमा गत असार १६ गते नेपाली कांग्रेसका तर्फबाट ४ जना सांसदले दफा ५७ को उपदफा १ मा थप्न खोजेको प्रतिबन्धात्मक व्यवस्था खारेज गर्न सामूहिक प्रस्ताव दर्ता गरेका थिए ।
पूर्व अर्थमन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य डा. प्रकाश शरण महत, पूर्व उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य दिलेन्द्र बडु, प्रतिनिधि सभा सदस्यहरु आरजु राणा र श्याम कुमार घिमिरेले आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ५७ को उपदफा १ मा गरिएको संशोधन हटाउनु पर्ने प्रस्ताव गरेका थिए ।
बैठकमा पूर्व अर्थमन्त्री महतले आर्थिक ऐनको दफा ३६ को उपदफा ६ मार्फत आयकर ऐनको दफा ५७ को उपदफा १ मा गरिएको संशोधन उपयुक्त नभएको बताएका थिए ।
‘आयकर ऐनको दफा ५७ मा गरिएको संशोधनलाई खारेज गरी यथावत राख्नु पर्ने हाम्रो प्रस्ताव छ,’ महतले संशोधन प्रस्ताव पेश गर्दै भनेका थिए, ‘आयकर ऐनको दफा ५७ को उपदफा १ मा जुन प्रतिबन्धान बाक्य थपिएको छ, त्यो हटाउनु पर्छ भन्ने हाम्रो प्रस्ताव हो ।’
दफा ५७ मा गरिएको संशोधनले भविष्यमा कुनै कम्पनी खरिद बिक्री गर्दा आयकर उठ्न नसक्ने तथा ठूला जलविद्युत, दुरसञ्चार जस्ता कम्पनीलाई लाभ हुने भएकाले यो व्यवस्था हटाउनु पर्ने महतको भनाइ थियो ।
‘अर्थमन्त्रीले जानेर गर्नु हो वा कसरी गर्नु भयो । जानेर गर्नु भएन् पनि कसरी भन्ने ।यो निकै गम्भिर विषय छ,’ महतले भनेका थिए ‘यो प्रतिबन्धात्क व्यवस्था हटाउनु पर्छ ।यसलाई पार्टीगत विषय नबनाई देशको हितका लागि हामीले गरेको संशोधन प्रस्तावलाई समर्थन गर्न आग्रह गर्छु ।’
पूर्व अर्थमन्त्री महतले साना कम्पनी र स्टार्टअफलाई छुट दिने गरी दफा ५७ मा संशोधन गरिएको भए विरोध गर्नु पर्ने कारण नभएको बताएका थिए ।
सोमबार राष्ट्रिय सभाले महत प्रतिनिधि सभामा राखेको आसय अनुसार नै स्टार्टअफ, भेन्चर क्यापिटल र प्राइभेट इक्युटीलाई मात्रै छूट दिने गरी दफा ५७ को उपदफा १ मा थपिएको प्रतिबन्धात्मक व्यवस्था संशोधन गरेको छ ।
राष्ट्रिय सभाले थपेको संशोधनलाई प्रतिनिधि सभाले स्विकार गरेसँगै पुँजी वृद्धि गरेर स्वामित्व परिवर्तन गर्ने तथा पुँजीगत लाभ कर छलि गर्न सक्ने कपटपूर्ण योजना तत्कालका लागि अन्त्य भएको छ ।













