११ श्रावण २०८३, सोमबार

अर्थमन्त्रीले भने,‘निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन, डेडिकेटेड र ट्रंक लाइन विवाद छिट्टै सुल्झिन्छ’



काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीमो माग चाँडै सम्वोधन गर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अब छिट्टै नै निर्माण व्यवसायीहरुले सरकारबाट पाउनुपर्ने भुक्तानी लगायतको गुनासो सम्वोधन हुने बताएका हुन् । राज्यका निकायहरुले ठेक्का लगाएर काम सम्पन्न भएका छ भने भुक्तानी नरोकिने बताए । जुनसुकै उपायबाट पनि व्यवसायीहरुको भुक्तानी नरोकिने मन्त्री पौडेलको भनाई थियो ।

उनले भने,‘निर्माण व्यवसायी भुक्तानी पाएनन् भन्ने गुनासो, यो टिप्पणी धेरै दिन गर्न, सुन्न पाउनुहुनेछैन । राज्यले टेन्डर गर्ने, निर्माण व्यवसायीहरुले निर्माण गर्ने, काम सम्पन्न गर्ने यदि काम राम्रो भएको छैन भने, सम्पन्न भएको छैन भने अरु प्रकारका समस्या छन् । त्यो फरक कुरा भो । तर, काम सम्पन्न भएको छ भने भुक्तानी अब रोकिदैन।’

यस्तै, अर्थमन्त्री पौडेलले डेडिकेटेड फिडर र ट्रंक लाइनको विवाद पनि कानुनत समाधान गर्ने आश्वासन दिए । उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवाद लामो समयदेखि चलिरहेको छ । उक्त विवाद सुल्झाउन प्रधानमन्त्रीले नै सरकारको दृष्टिकोण राखी सकेको पौडेलले जानकारी गराए । उनले भने,‘डेडिकेटेड फिडर र ट्रंक लाइन विवादको विषयलाई त्रास र आतङ्को रुपमा नलिन आग्रह छ । गैरकानुनी ढंगले सरकारले कुनै दायित्व सृजना गर्दै । यदि कसैले उद्योगीहरुलाई त्यस ढंगले दायित्व सृजना गर्छ खोजेको छ भने, त्यो कोसिस सफल हुँदैन ।’

डेडिकेटेड फिडर र ट्रंक लाइनको विवादको समस्या होस् वा निर्माण व्यवसायीको भुक्तानीमा भएको ढिलाइ सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो । आम जनताको मात्रै नभई निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताए ।

आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने भए पनि सबैभन्दा महत्वपूर्ण भनेको निजी क्षेत्रको विश्वास निर्माण गर्नु पर्ने उनको भनाई थियो । अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उत्पादन र निकासीसँगै बजारको माग घट्दै गएकोमा आफू सचेत रहेको बताउँदै उनले यस्ता समस्याको समाधान हुने बताए ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र अहिले समस्यामा रहेको र आर्थिक पुनरुत्थानको निमित्त निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिए । उनले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई अहिले आर्थिक निकायबीच समन्वय नभएको र अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको सहभागितामा आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको बताए ।

ढकालले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या छिट्टै समाधान गर्न पनि मन्त्री पौडेललाई आग्रह गरेका थिए । यो समस्याले उद्योगलाई ठूलो असर पारेको र उत्पादनमूलक गतिविधिहरु संकुचित भएको बताए । उद्योगले क्षमताअनुसार चल्न नसकेको उनले बताए ।

ढकालले अर्थतन्त्र संकुचित भएपछि मुलुकमा रोजगारी सिर्जनामा समेत असर परेको बताए । उनले नेपाल राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति ४.१७ प्रतिशतमा झरेको देखाएपनि वास्तविकतामा कोभिड यता ७ प्रतिशतको दरले बढ्दै गएको बताए । जसका कारण जनताको क्रयशक्तिमा ह्रास आएको बताउँदै उनले बजारको माग पनि घटेको बताए । ढकालले मन्त्री पौडेललाई आर्थिक गतिविधि पनि बढ्ने गरी बजारको माग बढाउन मद्दत गर्ने नीति ल्याउन आग्रह गरे ।

ढकालले मन्त्री पौडेललाई कर्जाको ब्याजदर घटे पनि उद्योगी र उद्यमीले लगानी गर्न नचाहेको बताए । त्यसैले रेमिट्यान्समार्फत देश भित्रिएको पैसा बैंक तथा वित्तीय संस्थामा थुप्रिएको छ । कम ब्याजदर मात्रै लगानीका लागि प्रोत्साहन होइन भन्ने देखाएको उनले बताए ।

ढकालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई स्थापित व्यवसायीले मात्रै लगानी नगर्ने, नयाँ उद्यमी पनि लगानी गर्न डराइरहेको बताए । यो विगतमा हामीले अपनाएका गलत नीतिको परिणाम हो भनी जानकारी गराए । ढकालले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउन मन्त्री पौडेललाई आग्रह गरे ।