११ श्रावण २०८३, सोमबार

कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिमा के-के छ ?



काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यको लागि कांग्रेस र एमालेबीच भएको गत असार १७ गते भएको सहमति सार्वजनिक गरेका हुन् । आइतबार संसदबाट सार्वजनिक भएको पत्रमा संविधान संशोधन, आलोपालको सरकारको नेतृत्व लगायतका सहमति भएको उल्लेख छ ।

नयाँ सरकारमा पहिलो दुई एमालेको तर्फबाट ओली प्रधानमन्त्री बन्ने र दोस्रो चरणमा कांग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा चुनावी सरकार बनाउने सहमति भएको थियो ।

यस्तै, अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरि विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने सहमति भएो थियो । यसका साथै आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने सहमति गरिएको उल्लेख छ ।

यी हुन् कांग्रेस–एमालेबीच असार १७ गते भएको सहमति

१. आम जनताको चाहनाबमोजिम राष्ट्रि हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ को २ अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।

२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सवल र दुर्वल पक्ष तथा जटिलताको समिक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदअनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकतामा दिने ।

३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरि विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।

४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने ।

५. राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तिव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनको आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।

६. राष्ट्रिय सहमतिको सरकारको लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताको आधारमा र समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।

७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावनाअनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तिव्रता दिने ।