ग्लोबल आइएमई बैंकको सिइओ बने रेग्मी, साढे ३ दशकको बैंकिङ अनुभव
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्ति भएका छन् ।
बिहीबार बसेको बैंक संचालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी बैंकको सिनियर डेपुटी सिईओ (वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत) थिए । उनको कार्यकाल आगामी भदौ १ गतेदेखि लागू हुनेछ ।
हाल बैंकको प्रमुख प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल यही महिना सकिँदैछ । साउन मसान्तसम्म बज्राचार्य सिइओ रहने छन् । तर, भदौ १ गतेदेखि भने रेग्मीले आफ्नो जिम्मेवारी सम्हालेनछन् । गत वर्ष २०८० असोज १ गतेदेखि लागू हुने गरी रेग्मी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।
उनी सन् २००८ मा ग्लोबल आईएमई बैंकमा भएका थिए । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।
ग्लोबल आइएमई बैंकमा विगत १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि पुरा गरिसकेका छन् । उनीसंग बैंकिङ्ग क्षेत्रको करिब ३६ वर्ष लामो अनुभव रहेको छ । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।
ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।













