‘लघुवित्तका पिता’ बने बाङ्गलादेशको सरकार प्रमुख
‘लघुवित्तका पिता’ बने बाङ्गलादेशको सरकार प्रमुख
काठमाडौँ । ‘लघुवित्तका पिता’ भनिने प्राध्यापक मोहम्मद युनुसले बाङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने भएका छन् । उनले लघुवित्त अभियानका माध्यमबाट दशौँ लाख मानिसहरुलाई निरपेक्षा गरिबीको रेखा माथि उठाएको भन्दै सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।
माईक्रो क्रेडिट रेगुलेटरी अथोरिटी (एमआरए)ले बाङ्गलादेशमा ७३१ लघुवित्त संस्थाहरुलाई लाइसेन्स दिएको छ । ती संस्थाहरुमा ४ करोड ८ लाख ६० हजारभन्दा बढी सदस्य छन्, जसमध्ये ३ करोड १५ लाखभन्दा धेरैले कर्जा सुविधा उपयोग गरिरहेका छन् ।
संसारमै गरिबी न्यूनिकरणका एक विशिष्ट उदाहरण बनेको बाङ्गलादेशी लघुवित्त अभियानका उत्प्रेरक एवम् ग्रामीण बैंकका संस्थापक युनुस फ्रान्सको राजधानी पेरिसमा बस्दै आएका थिए । शेख हसिना सरकारले उनलाई एक दशकभन्दा लामो समयदेखि दुःख दिएको द डेलिस्टारले लेखेको छ ।
युनुसले हसिना युगको अन्त्यलाई आफ्नो देश पुनः एक पटक ‘स्वतन्त्रता’ भएको टिप्पणी गरेका छन् । उनले विद्यार्थी नेताहरुको आग्रहमा आफू अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए । यससँगै ‘विभेद विरुद्धको आन्दोलन’मा मोर्चा सम्हालेका विद्यार्थी नेताहरुले हिजो बाङ्गलादेशका राष्ट्रपति र सेना तथा प्रहरीका प्रमुखहरुलाई भेटेर हुसेनको नेतृत्वमा सरकार बनाउने बारे छलफल गरेका थिए ।
गएको मध्येरातमा राष्ट्रपति मोहम्मद शाहबुद्धिन पनि युनुसको नेतृत्वमा सरकार बनाउन सहमत भएपछि नयाँ सरकारको रुपरेखा तयार भएको हो । राष्ट्रपतिले स्वतन्त्रता सेनानीहरुलाई पनि नयाँ सरकारमा समावेश गर्न आग्रह गरेका छन् । यससँगै विद्यार्थी नेताहरुले १० देखि १५ जना सम्भावित मन्त्री परिषद सदस्यहरुको सूची तयार पारिसकेको र त्यसबारे थप छलफल पछि टुंगो लगाइने बताइएको छ ।
नयाँ सरकारले ९० दिनभित्र त्यहाँको संविधान बमोजिम चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने भनिएको छ । यसअघि सेनाले सरकार बनाउने तयारी थालेपछि विद्यार्थीहरु पुनः आन्दोलन जारी राख्ने अवस्थामा पुगेका थिए । उनीहरुले सैन्य सरकार नमान्ने भनेपछि निवर्तमान प्रधानमन्त्री शेख हसिनाको राजिनामा पछि पनि अवस्था सुध्रिएको थिएन ।
तर बुधबारबाट विद्यार्थीहरुले आफैँ सडकमा खटेर सवारी आवागमनलाई सहज बनाइरहेको बाङ्ला सञ्चार माध्यमहरुले जनाएका छन् । बाङ्गलादेशको उक्त राजनीतिक घटनाक्रममा अमेरिकाले सबैभन्दा पहिले सकारात्मक प्रतिक्रिया जनाएको छ । उसले युनुसको नेतृत्वमा बन्ने सरकारले बाङ्गलादेशमा प्रजातन्त्र संस्थागत गर्न काम गर्नुपर्ने भनेको छ ।
अमेरिकी विदेश मन्त्री एण्टोनी ब्लिङ्कनले यस्तो बताएर सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले बाङ्गलादेशमा जारी विकास आयोजनाहरुलाई अघि बढाउनुपर्ने, सार्वजनिक संस्थाहरुलाई प्रजातान्त्रिक बनाइनु पर्ने र स्वतन्त्र एवम् निष्पक्ष निर्वाचन मार्फत् सत्ता हस्तान्तरण हुनुपर्ने बताएको छ ।
विसं. १९९७ असार १५ मा जन्मिएका ८४ वर्षीय युनुसले आफ्नो अब अर्थतन्त्रको सुधार, बेरोजगारी समस्याको हल र सुशासनको विकास गर्नमा कसरी भूमिका निर्वाह गर्न सक्छन् भन्ने हेर्न बाँकी छ । उनले अंग्रेजी अखबार द प्रिन्टसँगको अन्तरवार्तामा आफू ‘राजनीतिक प्राणी नभएको’ टिप्पणी गरेका छन् । तर विद्यार्थीहरुले देशको उत्थानका निम्ति त्यति ठूलो बलिदानी दिएका बेला आफू पनि मुलुकको हितमा काम गर्न तत्पर भएको उनले बताएका छन् ।













