नयाँ व्यवस्थापन आएपछि हिमालयन रिको उल्लासमय विस्तार, यसरी चुम्दैछ शिखर
काठमाडौँ । जसको नाम नै हिमालसँग गाँसिएको छ, उसलाई उचाइ घटाउने छुट कहाँ छ र ? हिमालयन रि-इन्स्योरेन्स अहिले यस्तै एक उदाहरण बनेको छ । हिमालयको देशबाट उठेको एक पूनर्बीमा कम्पनी ।
रफ्तार हेर्दा हिमालयनको विकास निकै लोभलाग्दो बन्न थालेको छ । आजभन्दा १० महिना अघि बिल्कुलै नयाँ कम्पनीको नेतृत्व गर्न आएकी उपासना पौडेल र उनको टीमले यो कम्पनीलाई विश्व बजारमा चिनाउन थालेको छ ।
कम्पनीको वित्तीय विवरणमात्रै होइन, प्रशासनिक पाटोमा पनि ब्यापक सुधार भएको छ । उसको व्यावसायिक क्षमता बढिरहेको छ भन्ने उदाहरण उसले पाएकाे राष्ट्रिय र अन्तरराष्ट्रिय रेटिङहरुमा भएको सुधारले पनि पुष्टि गर्छ ।
हालैमात्र हिमालयन रिले इक्रा रेटिङमा सुधार गर्दै ए माइनस (A-) बाट ए (A) रेटिङ प्राप्त गरेको छ । गत ८ साउनमा इक्रा नेपालले उक्त रेटिङमा सुधार गरेको हो । यसले कम्पनीको ‘क्रेडिट’ जोखिम निकै कम भएको जनाउँछ ।
इक्रामात्रै होइन, ‘एएम बेस्ट’को क्रेडिट रेटिङमा पनि हिमालयन रिले उल्लेख्य सुधार गरेको छ । एएम बेस्ट अमेरिकी क्रेडिट रेटिङ एजेन्सी हो । बीमा क्षेत्रको रेटिङमा विशेषज्ञता हासिल गरेको यो विश्वकै ठूलो रेटिङ एजेन्सी हो । उसले दुई वर्षको अन्तरालमा हिमालयन रिको रेटिङ स्तरोन्नती गरेर ‘बी प्लस’ दिएको छ ।
कम्पनीका अनुसार बी प्लसको अर्थ ‘राम्रो’ भन्ने हुन्छ । यसअघि हिमालयन रिले ‘बी’ अर्थात् ‘ठीकै’ भन्ने रेटिङ पाएको थियो । दीर्घकालिन क्रेडिट रेटिङमा पनि सुधार भएर ‘डबल बी प्लस’ बाट ‘ट्रीपल बी माइनस’ भएको छ । यसले पनि ‘ठीकै’ बाट ‘राम्रो’ भएको देखाउँछ ।
२ वर्षको अवधिमा रेटिङमा पुनर्विचार गरिएको यो एसियाकै पहिलो घटना भएको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल बताउँछिन् । उनले यस घटनबाट आफूहरुको पारदर्शिता र व्यावसायिक विकास कति मजबुत भएको छ भनेर मूल्यांकन गर्न सकिने बताइन् ।
एएम बेस्टले पनि ‘हिमालयन रिको सुधारिएको रेटिङले कम्पनीको वित्तीय विवरणको मजबूतीलाई दर्शाउने’ उल्लेख गरेको छ । ‘एएम बेस्टले यस (वित्तीय विवरण)लाई ज्यादै मजबूत मानेको छ । साथै, व्यावसायिक जोखिम व्यवस्थापन उचित भएको, सीमित ब्यावसायिक आकार भएको र सञ्चालत गतिविधी पनि उपयुक्त भएको देखिन्छ’ रेटिङ एजेन्सीले लेखेको छ ।
इक्राले भने नेपाली बीमाको ५० प्रतिशतसम्म पुनर्बीमा व्यवसाय स्वदेशी कम्पनीलाई दिनुपर्ने नियामकीय प्रावधानले समेत हिमालयन रिको रेटिङ बढाउन मद्दत गरेको उल्लेख गरेको छ । हिमालयनले जर्मन पुनर्बीमा कम्पनी ह्यानोफासँगको प्रमुख साझेदारीमा जोखिम बहन गरिरहेको छ । एएम बेस्टबाटै ‘डबल ए’ रेटिङ पाएको ह्यानोफा विश्वकै तेस्रो ठूलो पुनर्बीमा समूह हो ।

विदेशमा विस्तार
हिमालयन रिले नेपालमा पनि एक पुनर्बीमा कम्पनी छ भन्ने सन्देश विश्व बजारमा पुर्याउन सफल भएको छ । एक वर्ष अघिसम्म कुल व्यवसायको १ प्रतिशत पनि विदेशी व्यवसाय नभएको यो कम्पनीले अहिले आफ्नो कुल बीमालेखको झण्डै ६ प्रतिशत विदेशका लागि बीमा लेख रहेको जनाएको छ ।
यसरी नयाँ व्यवस्थापन आएपछि विदेशको व्यवसाय ५ गुणा बढेको छ । अहिले कम्पनीले अन्तरराष्ट्रिय बजार विस्तारमा ब्यापक सुधार गरेको छ । ३२ देशमा पुनर्बीमा व्यवसाय फैलिइसकेको छ । १०० भन्दा बढी देशबाट ‘अफर’ आए पनि धेरै तोलमोल गरेरमात्रै बीमा लेख्ने गरेको सीईओ पौडेल बताउँछिन् ।
कम्पनीले हाम्रा छिमेकी मुलुकका अलावा दक्षिण पूर्वी एसिया र अफ्रिकामा पनि कारोबार बढाएको छ । भारतीय बजारमा हिमालयन रिको उपस्थिति ब्यापक बढेको छ ।
‘भारतले कुनै पनि कम्पनीलाई २ वर्षको ब्यालेन्स सीटका आधारमा कारोबार गर्न दिएको थिएन’, उनी भन्छिन्, ‘नेपाली कम्पनीलाई सुरुमै काम गर्न दिएको छ । हाम्रो रेटिङ राम्रो भएकाले भारतले हाम्रा लागि आफ्नो बजार खोलिदिएको हो ।’
यसै कारण भारतमा एउटा अलग्गै टीम तैनाथ गरिएको उनले बताइन् । बढ्दो व्यापारले भारतीय बजारलाई केन्द्रित गर्न सजिलो परेको छ । उपासना आफैँ पनि भारतमै पढेर त्यहीँको बीमा क्षेत्रमा काम गरेर आएकाले त्यहाँको बजारबारे उनलाई धेरै जानकारी छ । यसले पनि भारतीय बजारमा आफ्नो उपस्थिति बढाउन मद्दत पुगेको छ ।

चार देशमा शाखा !
कम्पनीले भारत, दुबई, सिंगापुर र थाइल्याण्डमा शाखा विस्तार गर्दै छ । यी चार शाखाका लागि नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक सहमति दिइसकेको कम्पनीले जनाएको छ । विदेशी विनिमय लगायत केही प्रक्रियागत काम पुरा गर्न बाँकी रहेको र सम्बन्धित देशमा पनि स्वीकृतिको काम अघि बढिसकेको सीईओ पौडेल बताउँछिन् ।
असाधारण नाफा बृद्धि
नयाँ व्यवस्थापनले कम्पनीको नाफामा पनि असाधारण बृद्धि गरेर देखाएको छ । गत आर्थिक वर्षको चौँथो त्रैमासिक प्रतिवेदन प्रकाशित हुँदा कम्पनीको खुद नाफा ९७ प्रतिशत बढ्ने कम्पनी स्रोतले बताएको छ । भलै, सीईओ पौडेलले नाफाको बृद्धिदर ‘९० प्रतिशतभन्दा माथि रहने’ बताएकी छिन् । व्यवस्थापन समूह र कर्मचारीमा अधिकार र दायित्व दुबै बाँडेर काम गर्ने शैलीले कम्पनीको तीव्र विस्तारमा मद्दत मिलेको उनी बताउँछिन् । ‘केन्द्रिकृत कार्यशैली नभएकाले’ यो स्तरको उन्नती गर्न सफल भएको उनको दाबी छ ।
अहिले नै १० अर्ब चुक्ता पूँजी भएको र त्यसलाई अब छिट्टै २१ अर्ब पुर्याउने लक्ष्य राखेको कम्पनीमा जम्मा ३२ जना कर्मचारी छन् । यसले कम्पनीको सञ्चालन खर्चमा ब्यापक कमी ल्याएको छ । अन्य बीमा कम्पनी वा वित्तीय संस्थाहरुमा यो स्तरको पूँजी परिचालन गर्न हजारौंको संख्यामा कर्मचारी चाहिन्छ ।
तर पुनर्बीमाको व्यवसायमा सञ्चालन खर्च कम हुने भएकाले उसको नाफा बढाउन उल्लेख्य योगदान पुगेको छ । त्योभन्दा ठूलो कुरा चाहीँ व्यवस्थापकहरुको निर्णय क्षमता र कार्य कुशलताले नाफामा यो स्तरको विस्तार सम्भव हुन सकेको हो ।

स्वदेशी हिस्सा घटाउँदै, विदेशमा बढाउँदै
कम्पनीले पुनर्बीमा व्यवसायमा आन्तरिक बजारको हिस्सा घटाएको छ । अण्डरराइटिङ प्रबृत्तिमा परिमार्जन गरेका कारण यसो भएको सीईओ पौडेल बताउँछिन् । ‘सुरुमा कम्पनी नयाँ हुँदा जुनसुकै र जस्तोसुकै पोलिसी पनि काटिएको हुनसक्छ । तर अब हामीलाई कहाँ कति जोखिम छ भन्ने थाहा भएको छ’ उनले भनिन् ।
कम्पनीले भौतिक पूर्वाधारमा हुने सम्भावित क्षति र त्यसको दाबीलाई निगरानी गर्न ‘रियल टाइम जीआईएस’ प्रणाली सञ्चालन गरिरहेको छ । सुरुमा जलविद्युत् आयोजनाहरुको विवरण यस प्रणालीमा प्रविष्ट गरिएको छ । अब त्यसलाई थप परिस्कृत गर्दै लगिएको कम्पनीले जनाएको छ ।
१० महिना अघिसम्म भारतमा बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति पनि थिएन । एम बेस्ट रेटिङ पनि खासै राम्रो थिएन । यसले अन्तरराष्ट्रिय बजारमा काम गर्न सजिलो थिएन । भारतमै पनि बी प्लसभन्दा माथिको रेटिङ भएका कम्पनीले मात्रै काम गर्न पाइने व्यवस्था छ । तर अव परिस्थिति फेरिएको छ ।
‘विदेशको बजार खुल्नु नै हाम्रा लागि धेरै ठूलो सफलता हो’, पौडेल भन्छिन्, ‘अन्तरराष्ट्रिय बजार खुलिसक्यो । रेटिङ बढिसक्यो । अव व्यवसाय बढाउने हो । २ करोडको ब्यापार गर्ने ठाउँमा ५० करोडको ब्यापार गर्ने हो ।’
नेपालमा सबै किसिमका बीमा लेखेको भए पनि विदेशी बजारमा भने सम्पत्ती र इञ्जिनियरिङ बीमालेखमा बढी केन्द्रित भइरहेको उनी बताउँछिन् । अब भने नयाँ क्षेत्रहरुमा पनि जाने विषयमा आफूहरुले सोचिरहेको उनले जानकारी दिइन् ।
कम्पनीले निकट भविष्यमा सामुद्रिक बीमा (पानी जहाजहरु, कार्गो, टर्मिनल आदि) को पुनर्बीमामा पनि हात हाल्न खोजेको छ । सम्पत्ती बीमालाई पनि निर्माण, हाउजिङ, मलहरु बाहेकका अन्य सम्पत्तीमा समेत जान खोजिरहेको उनी बताउँछिन् । त्यो भनेको ठूला उद्योगधन्दाको पुनर्बीमा हो ।
प्राथमिक सेयर निष्काशन पश्चात् कम्पनीको जोखिम बहन गर्ने क्षमता भारी मात्रामा बढेको छ । नेटवर्थ बढेको छ । यस कारण ‘सही सेग्मेन्ट’ छ भने त्यसमा बीमालेखको आकार बढाउने र नयाँ क्षेत्रहरुमा पनि जाने कोसिस भइरहेको पौडेल बताउँछिन् ।
यसरी अन्तरराष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई बलियो पार्दै लगेको छ । ‘तर कम्पनीको वित्तीय स्थायित्वमै प्रश्न उठ्ने खालका ठूला बीमालेखमा भने अहिले हामी छुँदैनौँ’, उनले थपिन् ।
पौडेलले विदेशी बजारको जीवन बीमालाई नियालिरहेको बताएकी छिन् । नेपालमा जीवन बीमाको समेत पुनर्बीमा सेवा दिइरहेको कम्पनीले विदेशी बजारमा भने निर्जीवन बीमामा मात्रै काम गरिरहेको थियो । अहिलेसम्म जीवन बीमाको बारेमा खासै ‘अफर’हरु पनि नआएको कम्पनीले जनाएको छ ।
तर थुप्रै अन्तरराष्ट्रिय बीमा सम्मेलन र गोष्ठीहरुमा कर्मचारीलाई भाग लिन पठाएपछि विस्तारै जीवन बीमाका अफर आउन थालेको उनले बताइन् । जीवन बीमा दीर्घकालिन प्रकृतिको हुने र यसका केही झण्झटिला प्रक्रियाका कारण त्यस क्षेत्रमा विस्तारै प्रवेश गर्न चाहेको उनले बताइन् ।
‘अहिले हिमालयन रिको अन्तरराष्ट्रिय चर्चा भएको छ । नेपालमा पनि एउटा पुनर्बीमा कम्पनी छ भन्ने जानकारी विश्व बजारमा पुगेको छ’, उनी भन्छिन्, ‘यसले हामीलाई नयाँ क्षेत्र र नयाँ ठाउँमा व्यवसाय विस्तार गर्न मद्दत पुग्छ ।’
वासलातमा कहिले देखिन्छ हिसाब ?
कम्पनीले गत आर्थिक वर्षमा नै आफ्नो विदेशी कारोबार ५ गुणा बढाएको भने पनि वित्तीय विवरणमा भने त्यस प्रकारको आँकडा तुरुन्तै प्रस्तुत नहुने पौडेलले बताइन् । ‘हामीले बीमा लेखेको सबै प्रिमियम असार मसान्तभित्रै आउँदैन’ उनले थपिन्, ‘विदेशी बजारको प्रिमियम आउँदा त्यहाँको आर्थिक वर्षका आधारमा पैसा आउँछ ।’
त्यसै गएको असार मसान्तको वित्तीय प्रतिवेदनमा बढेको व्यवसाय पूर्णतः चित्रित नहुने उनी बताउँछिन् । ‘यो साल लेखेको केही बीमालेखको प्रिमियम नेपाली आर्थिक वर्षको हिसाबमा अर्कोसाल मात्रै देखिन्छ’, उनले थपिन्, ‘भारतबाट अप्रिलमा पैसा आउँछ । फिलिपिन्समा जनवरीमा आउँछ । यो विश्वब्यापी पुनर्बीमाको अभ्यास नै हो ।’
अहिले लेखिएको बीमाको केही प्रिमियम आगामी पुसको (दोस्रो त्रैमासिक) प्रतिवेदनमा देखिने छ ।

जोखिम व्यवस्थामा बदलाव
गत वर्ष जलविद्युतको बीमामा धेरै ठूलो क्षति बेहोर्नु परेको थियो । त्यस कारण कम्पनीले जोखिमको विविधिकरण गरिरहेको छ । एकातिर स्वदेशी बजारमा बीमालेख छनोट गर्न थालेको भने अर्कातिर विदेशी व्यवसाय ५ गुणा बृद्धि भएका कारण कम्पनीको व्यावसायिक विविधिकरण भएको छ ।
साथै जोखिम व्यवस्थापनमा काम गर्न कम्पनीले जीआई सीस्टम कार्यान्वयन गर्न खोजिरहेका छ । त्यसको आधा काम सकिएको पौडेल बताउँछिन् । अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासा लगायत कयौँ स्याटेलाइट डेटाहरु लिएर आफूहरुले रियल टाइम विवरण हासिल गर्न खोजेको उनले बताइन् ।
‘हामी नेपालमात्रै होइन, विश्वभरको व्यवसाय गर्छौँ । चार वटा शाखा खोल्दै छौँ । ती सबैलाई नियमित गर्नुपर्ने हुन्छ’, उनी थप्छिन्, ‘यसका निम्ति हामीले स्वचालित प्रणालीको विकासमा जोड दिएका छौँ ।’
यस अघिसम्म नेपालको डेटा कहीँ पनि नभएको र अब आफूहरुले त्यस्ता विवरण संकलन गरिरहेको उनले जानकारी दिइन् । ‘हामीले जलविद्युतबाट सुरु गर्यौँ । ७–८ महिना अगाडी यो परियोजना सुरु गरेका थियौँ’ उनले भनिन्, ‘अहिले नेपालको कुन खोलामा कहाँनेर कुन जलविद्युत् आयोजना छ भन्ने हामीसँग पुरापुर विवरण छ । पहूँचमार्ग कहाँ र कति छ, कस्तो हालतमा छ, प्रशारण लाइनको अवस्था के कस्तो छ भन्ने सबै कुरा हेर्न सक्छौँ ।’
गत साल जलविद्युतमा क्षति बेहोर्नु परेपछि आफूहरुले जोखिम व्यवस्थापनमा नवीन विकल्प अघि सारेको उनले बताइन् । ‘हाम्रो संस्थागत संरचनामा बदलाव ल्याएर जोखिम व्यवस्थापन समूह गठन गरेका छौँ’, उनी थप्छिन्, ‘बीमालेख जारी गर्नुअघि नै अण्डरराइटरको टोलीले यो टीमसँग छलफल गर्छ । उनीहरुले रियल टाइम डेटाका आधारमा सुझाव दिन्छन् । जोखिमको अवस्था, जोखिम बहन गर्ने क्षमता लगायत विविध पाटोबारे यो टीमले सुझाव दिन्छ ।’
यद्यपि, नेपालमा कतिपय गलत खालका दाबीहरु पनि आउने गरेको पाइएको उनी बताउँछिन् । व्यवसायीले ‘अलि बढी लाभ लिन खोजेजस्तो’ देखिएको उनको अनुभव छ । तर आफूहरुले अन्तराष्ट्रिय मान्यतालाई अवमूल्यन् गर्ने गरी दाबी भुक्तानी गर्न नसक्ने उनी बताउँछिन् ।
स्वदेशको आरएसटी (रिटेल सेल्स ट्याक्स)को व्यवसाय हिमालयन रीले पाइरहेको छैन । यसै पनि घरेलु बजारले मात्रै नेपाली पुनर्बीमा कम्पनीहरुलाई पुग्दैन । त्यसले पनि उसले आफ्नो पहूँच हिमालयदेखि टाढासम्म पुर्याउनुपर्ने अवस्था छ ।
नेपाल बाहिरको बजारमा जाँदा रेटिङको महत्व असाध्यै धेरै हुन्छ । ‘यहाँ फोनको भरका काम गराउनु पर्छ भन्ने मान्यता पनि देखिन्छ’, पौडेल भन्छिन्, ‘तर आवस्यक प्रक्रिया र कागजात नपुगि दाबी तिर्ने हो भने त कम्पनीलाई घाटा लाग्नेमात्रै होइन मेरो रेटिङ नै जान्छ ।’













