हिमालय उर्जा विकास कम्पनीको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले आज (साउन २४ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्दैछ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १:१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर जारी गर्न गरेको हो । यस अनुसार कम्पनीले ९९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २० गते बुकक्लोज गरेको थियो। यस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आस्वा प्रणाली मेरो सेयर, लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछाप शाखाबाट आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।













