८ श्रावण २०८३, शुक्रबार

ठुला जीवन बीमा कम्पनीको लगानी ६ खर्ब ८२ अर्ब: मुद्दति निक्षेपमा मात्रै ७६ प्रतिशत, कहाँ-कहाँ कति लगानी ?



काठमाडौं । ठुला जीवन बीमा कम्पनीहरुले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पौने ७ खर्ब लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको गत आर्थिक वर्ष २०८०-८१ को लगानी सम्वन्धीको तथ्याङ्कले यस्तो देखाएको हो ।

नेपाली बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, सेयर बजार, घरजग्गा, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक सेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गर्दै आएका छन् ।

प्राधिकरणका अनुसार गत आवमा १४ वटा जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ६ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ लगानी गरेका हुन् । कम्पनीको सबैभन्दा धेरै लगानी बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा देखिएको छ । कुल लगानीको ७६.४१ प्रतिशत हिस्सा मुद्दति निक्षेपको हुन आउँछ ।

गत वर्षमात्रै कम्पनीहरुले वाणिज्य बैंकको मुद्दति निक्षेपमा ४ अर्ब ६१ अर्ब ११ करोड ७१ लाख रुपैयाँ लगानी गरेका छन् । यो कुल लगानीको ६७.५८ प्रतिशत हुन आउँछ । यस्तै, कम्पनीहरुले पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा ९ अर्ब २७ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थामा १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति ६ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ लगानी गरेका छन् ।

तर, कम्पनीहरुले घरजग्गामा भने कुनै पनि लगानी नगरेको पाइएको छ । प्राधिकरणले कम्पनीहरुलाई बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ। यस्तै, सेयर बजार (सूचीकृत पब्लिक कम्पनीको साधार सेयर) मा १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ लगानी छ । सेयर बजारमा कम्पनीहरुले बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । कुल लगानीको २.८० प्रतिशत लगानी भने सेयर बजारमा देखिएको छ।

यता, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा पनि ३० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । सोही व्यवस्था बमोजिम कम्पनीहरुले यी क्षेत्रमा कुल १ अर्ब ४९ करोड ५२ लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, सूचीकृत कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा १८ अर्ब ८६ करोड ९३ लाख लगानी गरेको पाइएको छ।

प्राधिकरणका अनुसार कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायतका विकरणीय उर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा ८ अर्ब ५८ करोड ८४ लाख, नागरिक लगानी कोष र म्युचुअल फन्डमा २ अर्ब ५० करोड २६ लाख, इन्भेष्ट कम्पनीको सेयरमा ४६ करोड ४५ लाख रुपैयाँ छ ।
अन्य संस्थापक सेयरमा पनि ११ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ, सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको सेयरमा १ अर्ब ८ करोड ४० लाख र अन्य लगानी ४२ अर्ब ७६ करोड २९ लाख रुपैयाँ लगानी छ ।

अर्थतन्त्रका विभिन्न क्षेत्रमा सबैभन्दा ठुलो लगानी नेपाल लाइफको देखिएको छ । गत वर्षसम्म आइपुग्दा कम्पनीको कुल लगानी नेपाल लाइफको २ खर्ब ३ अर्ब १४ करोड १२ लाख रुपैयाँ कायम भएको छ । दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको १ खर्ब १९ करोड ६९ लाख रुपैयाँ लगानी रहेको छ ।

यस्तै, हिमालयन लाइफको ६५ अर्ब ३९ करोड ६३ लाख, नेशनल लाइफको ६४ अर्ब ३२ करोड ३० लाख, सूर्यज्योति लाइफ ३४ अर्ब ८२ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीको ४९ अर्ब २४ करोड ८३ लाख, एशियनको ४१ अर्ब १२ करोड ५३ लाख, मेट लाइफको २८ अर्ब ६५ करोड ५० लाख रुपैयाँ लगानी देखिएको छ।

त्यसैगरि सिटिजन लाइफको १९ अर्ब २४ करोड ५ लाख, सानिमा रिलायन्स १८ अर्ब २३ करोड ३५ लाख, रिलायवल नेपालको १६ अर्ब ३० करोड ४५ लाख, आइएमई लाइफको १५ अर्ब ३३ करोड ६२ लाख, प्रभु महालक्ष्मी लाइफको १४ अर्ब ७९ करोड ६० लाख र सन नेपाल लाइफ ११ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ लगानी रहेको छ।


प्रतिक्रिया दिनुहोस्