१० श्रावण २०८३, आइतबार

सीआईबिलाई सेबोनको जवाफ: रिलायन्सको वित्तिय विवरणमा कैफियत भेटिएन, थप अनुसन्धान पर्दैन

सीआईबिलाई सेबोनको जवाफ: रिलायन्सको वित्तिय विवरणमा कैफियत भेटिएन, थप अनुसन्धान पर्दैन



नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ्ग मिल्सको वित्तिय विवरणबारे केन्द्रिय अनुसन्धान ब्युरो ’सीआईबि’ को पत्रको जवाफ पठाएको छ।

रिलायन्सको वित्तिय विवरणमा कसुर नदेखिएकोले सीआईबिको अनुसन्धान आवश्यक नभएको जवाफ धितोपत्र बोर्डले पठाएको स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार धितोपत्र बोर्डले यहि साउन २४ गते सीआईबिलाई जवाफ पठाएको हो। करिब ४८ पृष्ठ लामो जवाफ पत्रमा रिलायन्सको वित्तिय विवरण बदनियतपुर्व भएको नभेटिएकोले थप अनुसन्धान आवश्यक नपर्ने उल्लेख छ।

पत्रको निष्कर्षमा भनिएको छ, ’धितोपत्र सम्बन्धि ऐन २०६३ र सो अन्तर्गत बनेको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३, धितोपत्र निष्काशन तथा बाँडफांड निर्देशिका २०७४ र बुक बिल्डिंग निर्देशिका २०७७ अनुसार नै मूल्य निर्धारण गरिएको र कम्पनीको वित्तिय विवरण प्रमाणित गर्ने एसएआर एसोसीएट्सले रिलायन्सको २०८०–८१ को प्रथम त्रैमासको प्रति शेयर आम्दानी शुन्य दशमलब ९६ पैसा र २०८०–८१ को प्रति सेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा प्रक्षेपण गरेको र सो प्रक्षेपणमा धितोपत्र बोर्डमा पटक पटक अध्ययन अनुसन्धान भएको बिषयलाई आधार मान्दा उक्त कम्पनीको वित्तिय प्रक्षेपण असम्भव वा बदनियतपूर्ण गरेको भन्न सकिने अवस्था नदेखिंदा धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ९७ बमोजिमको कसुर गरेको भन्न सकिने अवस्था नदेखिएको।’

वित्तिय विवरणमा कुनै पनि किसिमको कसूर नभएकाले सीआईबिले थप अनुसन्धान गरिरहन आवश्यक नरहेको निष्कर्ष सहित सेबोनले सीआईबिलाई पत्र लेखेको हो।

रिलायन्सको वित्तिय विवरण जालसाजीपूर्ण रहेको भन्दै उजुरीपरेपछि यसबारेको सत्यतथ्य जानकारी दिन भन्दै सीआईबिले गत असार २६ गते सेबोनलाई पत्र पठाएको थियो। पत्र प्राप्त भएको ३० दिनभित्र अध्ययन गरेर त्यसको जवाफ दिनुपर्ने ऐनको व्यवस्था अनुसारनै धितोपत्र बोर्डले यहि २४ गते सीआईबिलाई पत्र बुझाएको हो।