८ श्रावण २०८३, शुक्रबार

बीमामा सरेन्डरको लहर: एकै वर्ष सवा लाख बीमितले त्यागे १४.५ अर्बको बीमा पोलिसी, कुन कम्पनीको कति ?



काठमाडौं । अझै पनि बीमा पोलिसी सरेन्डर गर्ने प्रवृत्तिमा सुधार आउन सकेको छैन । बीमा योजना परिपक्व हुने समयावधि नसकिँदै समर्पण (सरेन्डर) गरिने जीवन बीमालेख र त्यसको रकम बढ्दो नै देखिएको छ ।

एकै वर्षमा सवा लाख बढी बीमालेख सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको गत आर्थिक वर्ष २०८०–८१ को तथ्याङ्कले यस्तो देखाएको हो ।

गत आवमा कुल १ लाख १३ हजार ९७६ वटा बीमालेख सरेन्डर भएको छ । प्राधिकरणका अनुसार गत आवमा १४ अर्ब ५० करोड १३ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको हो । अघिल्लो आवमा पनि १४ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको १ लाख ४ जार ४०६ वटा बीमालेख बन्द भएका थिए ।

बीमितहरुले निश्चित अवधिमा लागि भनेर जीवन बीमालेख खरिद गर्दछन् । आम मानिसले निश्चित अवधी तोकेर जीवन बीमा गर्ने गर्छन् । बीमा कम्पनीले पनि सोही अवधीभर नै सम्बन्धीत बीमितको जोखिम कभर गर्छ । तर, उक्त अवधी नसकिदैं बीमितहरुले पोलिसी बन्द गरेर आफुले पाउनुपर्ने रकम फिर्ता पनि लैजान सक्छन्, पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ, त्यसपछि पोलिसी बन्द हुन्छ ।

हाल बीमा गरेको न्यूनतम ३ बर्ष पछि मात्रै पोलिसी बन्द गर्न पाइने व्यवस्था प्राधिकरणले गरेको छ । यसअघि यस्तो अवधिमा दुई वर्षको रहेको थियो । तर, प्राधिकरण नीतिगत कडाई गरेको गरि अवधिमा बढाएर ३ वर्ष पुर्याएको थियो । आर्थिक शिथिलता अझै पनि कायमै रहेकाले पनि बीमालेख त्याग्ने प्रवृत्तिमा नियन्त्रण हुन नसकेको प्राधिकरणले जनाएको छ।

कतिपय बीमितले आफ्नो आर्थिक समस्या टार्नका लागि पनि बीमालेख त्याग्ने गरेका छन भने कतिपय अभिकर्ताहरुले कमिसनको लोभमा राम्रोसँग नबुझाई बीमा नगराउँदा पनि यस्तो प्रवृत्ति बढेको प्राधिकरणका एक अधिकारीले बताए ।

यद्यपि, सरेन्डरलाई नियन्त्रण गर्नेका लागि प्राधिकरण थप अध्ययन भइरहेको उनको भनाई छ । उनका अनुसार सरेन्डर न्युनीकरणका लागि अहिले विभिन्न अध्ययन अनुसन्धान पनि भईरहेको छ । बीमितले आफूलाई सुहाउँदो र आवश्यकताका आधारमा बीमालेख खरिद गर्ने प्रचलन बढाउनुपर्ने प्राधिकरणले जनाएको छ ।

‘बीमा योजनाको बारेमा राम्रोसँग बुझेर आवश्यकताका आधारमा बीमालेख खरिद गर्ने प्रचलन बढाउनपुर्नेछ । अभिकर्ता पनि कमिसनको लोभमा लाग्नु भएन्’, ती अधिकारीले भने ।

हाल मासिक औसतमा १ अर्ब २० करोड रुपैयाँ बराबरको सरेन्डर हुँदै आएको छ । प्राधिकरणका अनुसार ८ हजार ७०० हाराहारीमा बीमालेख मासिक रुपमा सरेन्डर हुँदै आएको छ ।

सबैभन्दा धेरै एलआइसी र नेपाल लाइफका बीमितले त्याग्छन् पोलिसी

बीमालेखको आधारमा भने सबैभन्दा धेरै एलआइसी नेपालको पहिलो सूचीमा देखिएको छ । कम्पनीको एक वर्षमा ३० हजार ३०९ वटा बीमालेख सरेन्डर भएको छ । कम्पनीको ४ अर्ब ३० कारेड ३७ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको छ ।

रकमका आधारमा भने नेपाल लाइफ पहिलो नम्बरमा छ । कम्पनीका बीमितले एकै वर्ष ४ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ बराबरको २८ हजार ६२७ वटा बीमालेख त्यागेका छन् । कुल सरेन्डरमा यी दुई कमपनीको हिस्सा ६०.११ प्रतिशत हिस्सा छन् ।

यस्तै, गत आवमा राष्ट्रिय बीमा संस्थानको १ अर्ब १० करोड ४८ लाख रुपैयाँ बराबरको १३ हजार ९४१ वटा बीमालेख बन्द भएका छन् । यता, हिमालयन लाइफको १ अर्ब २ करोड ९५ लाख, नेशनल लाइफको १ अर्ब १ करोड ८० लाख रुपैयाँ बराबरको क्रमशः ७ हजार ८१० र ७ हजार ५०० वटा बीमालेख सरेन्डर भएको छ ।

त्यसैगरि सूर्यज्योतिलाइफको ५ हजार २७४, एशियनको ७ हजार १७१, मेट लाइफको ४ हजार १०३, सानिमा रिलायन्सको १ हजार ७२८, सिटिजनको २ हजार ६५१, आइएमईको १ हजार ५२५, रियालवल नेपालको १ हजार ४७४ र सन नेपाल लाइफको ६८२ वटा बीमालेख बन्द भएका छन् ।

कुन कम्पनीको कति ?


प्रतिक्रिया दिनुहोस्