१० श्रावण २०८३, आइतबार

हाइड्रोपावर, लघुवित्त र बाणिज्य बैंकको सेयरमा लगानीकर्ताको चुलिदो आकर्षण, यस्तो छ कारोबारको आँकडा

हाइड्रोपावर, लघुवित्त र बाणिज्य बैंकको सेयरमा लगानीकर्ताको चुलिदो आकर्षण, यस्तो छ कारोबारको आँकडा



काठमाडौं । एक वर्षमा झन्डै साढे ७ खर्बको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले हाल प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत आवमा ७ खर्ब ३४ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । जुन अघिल्लो आवको तुलनामा ५७.२७ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कुल ४ खर्ब ६७ अर्ब १२ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

गत आवमा कुल २ अर्ब ५ करोड २१ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । सेयर कारोबारमा हाइड्रोपावरको हिस्सा सर्वाधिक नै छ । हाइड्रोपावर कम्पनीको सेयरमा आकर्षण नै देखिएको छ । गत आवमा हाइड्रोपावर समूहको २ खर्ब ७ अर्ब ६८ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कुल कारोबारको २८.३ प्रतिशत हुन आउँछ । गत आवमा हाइड्रोपावरको ७० करोड ९१ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री भएको देखिन्छ।

हाइड्रोपावरपछि माइक्रोफाइनान्सको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। गत वर्ष माइक्रोमाइनान्स सेक्टरको ७० अर्ब ५३ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कुल कारोबारमा यस क्षेत्रको योगदान ९.६ प्रतिशत छ । गत आवमा यस क्षेत्रको कुल ७ करोड ७१ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको हो ।

तेस्रो आकर्षण भने वाणिज्य बैंकमा देखिएको छ । कुल कारोबारमा वाणिज्य बैंकको हिस्सा ९.१ प्रतिशत छ । गत आवमा बैंकहरुको कुल ६६ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ बराबरको २६ करोड २० लाख ९३ हजार कित्ता सेयर किनबेच भएको छ ।

यस्तै, कुल कारोबारमा फाइनान्स कम्पनीको योगदान ८.७ प्रतिशत, जीवन बीमा समूह ७.८ प्रतिशत, र उत्पादन तथा प्रशोधन समूहको ७.७ प्रतिशत रहेको छ । गत आवमा यी समूहहरुको क्रमशः ६४ अर्ब २ करोड १० लाख, ५७ अर्ब १२ करोड २६ लाख र ५६ अर्ब ७८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यता, कुल कारोबारमा लगानी समूहको योगदान ६.२ प्रतिशत, विकास बैंकको ५.७ प्रतिशत, अन्य समुहको ५.४ प्रतिशत, निर्जीवन बीमाको ५.३ प्रतिशत, होटेल तथा पर्यटन समूहको ३ प्रतिशत रहेको छ।