‘डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता महसुल एक रुपैयाँ पनि छोडिदैन, सरकार र प्राधिकरणबीच मतभेद छैन’
‘डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता महसुल एक रुपैयाँ पनि छोडिदैन, सरकार र प्राधिकरणबीच मतभेद छैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रङ्क लाइनका विद्युत उपभोक्ताहरुबाट सरकारले बक्यौता महसुल उठाउने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उद्योगीहरुले उपभोग गरेको विद्युतको महसुल एक रुपैयाँ पनि नछोडिने बतएका हुन् ।
‘डेडिकेटेड र ट्रङ्क लाइनका विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको छ– विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाह गरेको भन्दै झुठो प्रचार गर्ने अभियान चलेको छ’, उनले भने, ‘यस विषयमा सरकार र विद्युत प्राधिकरणका बीच बाहिर प्रचार गरिएजस्तो मतभेद पनि छैन ।’
बक्यौता उठानका लागि उद्योग चल्नु पर्ने उनको भनाई थियो । उद्योग बन्द गराएर नभई चलयाएर बक्यौता उठाउनुपर्ने प्रधानमन्त्र ओलीले बताए । उनले भने,‘बक्यौता उठाइन्छ, छोडिंदैन, तर उद्योग बन्न गरेर होइन चलाएर । उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, ब्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ ।औद्योगिक ग्राहकसँग लिनु पर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपत अनुसारको महसुल उठाएरै छोडिन्छ ।’
सोही अवसरमा सरकारले विभिन्न सहुलियत मार्फत सर्वसाधारणले खपत गर्ने विद्युतको शुल्कमा छुट दिएको जानकारी गराए ।
मासिक २१ लख सर्वसाधारणलाई २० यूनिटसम्मको विद्युत निशुल्क दिइएको ओलीको भनाई थियो । उनले भने,‘२० युनिटसम्म खपत गर्ने उपभोक्ताहरुलाई केवल मासिक ३० रुपैंया तिरे पुग्ने व्यवस्था गरिएको छ । त्यस्तै सिंचाइ वर्गका ग्राहकलाई प्रति यूनिट २ रूपैया २५ पैसाका दरले विद्युत उपलव्ध गराइएको छ ।’
यस्तै, सामुदायिक खानेपानीमा डिमाण्ड चार्ज पुरै मिनाह गरी प्रतियूनिट ४ रूपैया २० पैसाको दरले विद्युत उपलव्ध गराइएको जानकारी गराए ।
चार्जिङ स्टेशनलाई सहुलियत दरमा प्रति यूनिट ५ रूपैयाँ ७५ पैसाको दरले विद्युत उपलव्ध गराइएको छ । आगामी दिनमा सर्वसाधारणले उपभोग गर्ने विद्युत महसुल दर थप घटाउन सकिने ओलीको भनाई थियो । उनले भने, ‘औद्योगिक ग्राहकलाई शुल्क मिनाह गरेको, सर्वसाधारणसँग कसेर महसुल उठाइएको भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्छु ।’













